पूर्वराजालाई तह लगाउन राष्ट्रपतिसँग प्रचण्डको भेट,अबको अवस्था के होला ?
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले निकै तनाव दिएको छ । कांग्रेस र एमाले लगायतका अन्य राजनीतिक दललाई तह लगाउन हिँडेका प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र एक व्यक्तिमा नै अल्झिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा दिन प्रतिदिन माहोल बढ्दै जान थालेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निद हराम भएको छ । राजावादीहरूको सक्रियताले छटपटीमा परेका प्रचण्ड आफ्नो उद्देश्यमा ब्रेक लगाउन बाध्य बनेका छन्।
पार्टी सुदृढीकरणका लागि तराई मधेश जागरण अभियानमा रहेको माओवादीको कार्यक्रम ज्ञानेन्द्रकै कारण दुई दुई पटक स्थगित भइसकेको छ ।
गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते रौतहटमा पुगेर स्थगित भएको थियो । गत बिहीबारदेखि बाराबाट पुनः सुरु भएको उक्त अभियान फेरि चितवनमा पुगेर रोकिएको छ।
माओवादीसहितको समाजवादी मोर्चाले आगामी चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा गर्न लागेको बृहत् जनप्रदर्शनको तयारीका लागि पाँच दिन अभियान स्थगित गरिएको हो । कांग्रेस र एमाले लगायतका अन्य ठूला राजनीतिक दललाई तह लगाउन हिँडेका प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र एक व्यक्तिमै रुमलिएका छन् ।
१८ महिनाको सत्ता यात्रापछि प्रतिपक्षमा पुगेर कांग्रेस एमालेलाई तह लगाउने योजना बुनेका प्रचण्डलाई पूर्वराजा ज्ञानेन्द्र शाह र उनीप्रति देखिएको जनसमर्थनले घुमाइदिएको हो।
कांग्रेस एमालेलाई ठेगान लगाउन हिँडेका प्रचण्ड ज्ञानेन्द्रकै कारण अहिले उनै देउवा ओलीसँग मिल्नु पर्ने अवस्थामा पुगेका छन्। त्यसै क्रममा सोमबार प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेस सभापित शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
ओली देउवालाई भेट्नु अघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेका छन् । भेटमा पूर्वराजा शाहकै नेतृत्वमा भइरहेका राजावादी गतिविधिहरुबारे समीक्षा भएको शीतल निवास स्रोतले जनाएको छ. पूर्वराजा सलबलाएकै कारण दोस्रो प्रयासमा शीर्ष नेताहरूसँग प्रचण्डकोे भेटवार्ता हुँदा सहमतिको सरकारबारे पनि छलफल भएको छ। माओवादीले त छलफल अघि नै सहमतिको सरकार बनाउनु पर्ने महसुस गरिसकेको छ।
सुरुदेखि नै राजावादीहरूको प्रतिवादमा उत्रिएका प्रचण्डसहितका माओवादी नेता यदि राजसंस्था फर्कियो भने आफूहरूकै अस्तित्व समाप्त हुने डरमा छन् । त्यसैले पनि ज्ञानेन्द्रको कदमबाट सबैभन्दा बढी टाउको माओवादीको दुख्नु स्वभाविक हो ।
ज्ञानेन्द्रले चालेका कदमप्रति सबैभन्दा बढी आक्रामक देखिएको माओवादी उनको लोकप्रियताले १२ बुँदे विस्तृत शान्ति सम्झौतामा समेत धक्का लाग्ने हुँदा त्रसिद बनेको छ।
हिजो सशस्त्र द्वन्द्वमा हुँदा कांग्रेस एमालेलाई पाखा लगाउन भरियासँग नभई मालिकसँग नै वार्ता गर्ने अडान लिएको माओवादीले फेरि विगतमा झै ज्ञानेन्द्रलाई मालिकको रुपमा स्वीकार्न सक्दैन। त्यसैले ठूलो बलिदान र सङ्घर्षले फालेको राजसंस्था फर्किए माओवादी आन्दोलनको औचित्य नै सकिने प्रचण्डको बुझाइ छ।
देशमा गणतन्त्र आउनुमा सबैभन्दा ठूलो भूमिका खेल्ने पात्र स्व।गिरिजाप्रसाद कोइराला र आफू भएको प्रचण्डले दाबी गर्ने गरेका छन्। त्यसैले पनि गणतन्त्रको मसिहाको रुपमा आफूलाई सम्झिने प्रचण्डमा पछिल्लो घटनाक्रमले छटपटी बढाएको हो।
पूर्व राजाप्रति बढेको रापतापलाई प्रचण्ड एक्लैले रोक्न सक्ने अवस्था नहुँदा कांग्रेस एमालेसँग मिल्नुको विकल्प उनले देखेका छैनन्। सिङ्गो कांग्रेस एमालेलाई नै ठेगान लगाउन हिँडेका प्रचण्ड एक व्यक्ति ज्ञानेन्द्रकै कारण अहिले भाउन्नमा परिरहेका छन्।