गणतन्त्रवादी र राजावादीको १५ गते हुने प्रदर्शनका लागि तोकिए दुई स्थान
काठमाडौं। गणतन्त्रवादी र राजावादी दुई समूहले १५ चैतमा काठमाडौंमा गर्ने भनिएको प्रदर्शनका लागि दुई फरक ठाउँ तोकिएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरलाई प्रदर्शन गर्न दुई फरक ठाउँ तोकेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपको ठाउँ दिइएको छ।राजातन्त्र पक्षधर तथा दुर्गा प्रसाईं समूहलाई तीनकुने ठाउँ तोकिएको उनले ताए।
गणतन्त्री पक्षधरमा समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गर्दै छन्।
यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का तर्फबाट प्रदर्शन हुँदैछ। प्रदर्शनका लागि प्रसाईं समूहबाट ठाउँ माग भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।
दुई फरक समूहले एकै दिन प्रदर्शन गर्ने भएपछि प्रहरीले पनि त्यही अनुसारको सुरक्षा रणनीति बनाउने तयारी गरेको छ।