ओलीको निरंकुशताले सरकार विरोधी आन्दोलन थप आक्रामक बन्ने संकेत
काठमाडौं। राष्ट्रवादी नेताको छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफ्नै खुट्टामा बञ्चरो हान्दै छन्।उनका हरेक निर्णय जनविरोधी मात्र छैनन्,सरकार विरोधी आन्दोलनलाई थप आक्रामक बनाउने खालका प्रतिक्रियात्मक कदमलाई समेत बढावा दिइरहेका छन्। सरकारको कुबुद्धिले विरोधीहरुलाई झनै हौसला थपिरहेको छ। सरकार जानीजानी भिरमा लड्दैछ भने जनता रामराम मात्र भन्न सक्ने तर काँध हाल्न नसक्ने अवस्थामा पुग्दैछन्।
कुलमान हटाउने निर्णय
उद्योगीबाट अर्बौं बक्यौता राज्यको ढुकुटीमा ल्याउन प्रयासरत विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले कू गरेको छ। बलियो सरकार बनेकै दिनदेखि कुलमानलाई हटाउन ८ महिनाको अवधिमा ६ पटक स्पष्टीकरण सोधिएका छन्। उनीमाथिको अनियमितताबारे लेखा समितिले फाइल खोल्ने नाटक गरेको महिनौँ भइसकेको छ ।
तर, गलत गरेको भए नियमसंगत तरिकाले छानबिन गर्नुपर्नेमा कार्यकाल सकिनु चार महिना बाँकी रहँदै हटाउने निर्णय आफैँमा बद्मासी मात्र हो। यहाँ सरकारका आफ्नै स्वार्थ देखिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सालो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई नयाँ एमडी बनाएका छन्। स्मरण रहोस् उनी यसअघि प्राधिकरणको नेतृत्वमा रहँदा विद्युत चुहावट बढेको, नाफा घटाएर कमिसन खाएको आरोप लागेको थियो। अर्कोतर्फ हाइड्रोपावरका लगानीकर्ता दीपक खड्कालाई ऊर्जा मन्त्री बनाइएपछि उनी ठूूलै खेलोफाँडो गर्न चाहन्थे।
अब उनले आफ्नो अवरोध पन्छाएका छन् । कांग्रेसले पनि यसलाई सामान्य रुपमै लिँदा अब उनको पनि स्वार्थ पूरा हुनेछ। उज्यालोका नायक हटाइएपछि देशमा फेरि एकपटक इन्भर्टर र ब्याट्रीको व्यापार बढ्न सक्छ भने यसका माफियाहरु झनै सल्बलाउने खतरा उत्तिकै छ।
केही मन्त्रीले कुलमान हटाने निर्णयको विरोध गरे पनि ओली र डा। आरजु राणा देउवाको ट्यूनिङ मिल्दा कसैको केही लागेन। यसको सत्तारुढ नेताहरुले नै आलोचना गरिरहेका छन् ।
पूर्वराजा थुन्ने चेतावनी
ओलीको अर्को विवादास्पद अभिव्यक्ति हो पूर्वराजा ज्ञानेन्द्र शाहलाई थुन्ने । ओलीले चैत चार गतेको सचिवालय बैठकमा राजावादीका गतिविधि निस्तेज पार्न ज्ञानेन्द्रलाई थुन्न सकिने हदसम्म जान सकिने ब्रिफिङ गरेका थिए।
ओलीको पछिल्लो कार्यशैलीले तत्कालीन राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश शासक नै आए पनि स्वीकार्ने अवस्थामा जनआक्रोश पुग्दा आफ्ना बोली र कदम हेर्ने फुर्सद यिनलाई छैन। तर, असन्तुष्टिको आवाज दबाएर मनोमानी गर्ने लाइन उनले पक्रिएका छन्।
ज्ञानेन्द्र हत्यारा हुन् भने छानबिन गरेर थुन्ने अधिकार सरकारलाई जुनसुकै बेला पनि छ । तर, २३ वर्षसम्म चुपचाप बसेर आफूमाथि संकट आए थुन्ने अभिव्यक्ति दिनु उल्टो बुद्धिको उपज मात्रै हो।
भारतलाई देखाइदिने धम्की
एमाले सचिवालय बैठकमै ओलीले भारतले आफूविरुद्ध झापादेखि काठमाडौंसम्मै जासुस परिचालन गरेको ब्रिफिङ गरेका थिए। आफूलाई प्रधानमन्त्रीबाट हटाउन उनीहरुले चलखेल गरिरहेको भन्दै भारतलाई देखाइदिने धम्की दिएका थिए।
भारत भ्रमणको निम्तो कुर्दाकुर्दै थाकेका ओलीले उत्तेजक अभिव्यक्ति दिँदा नेपालबाट निर्यात हुने प्लाइउड र सिमेन्ट रोकेर भारतले अघोषित अवरोध सुरु गरिसकेको छ। भारत रिझाउन हदैसम्म मिहिनेत पनि गर्ने, कडा भाषामा धम्की पनि दिने र उसको अघि चुँइक्क बोल्नसम्म नसक्ने ओली प्रवृत्ति विपरीत बुद्धिकै उपज हो।
बालेनसँग अनावश्यक लफडा
काठमाडौं महानगरपालिकामा प्रशासकीय अधिकृतको विवाद नमिलेको तीन महिना पुगिसकेको छ । बहालवाला हाकिम सरोज गुरागाइँमाथि छानबिन भइरहेको भन्दै महानगरले पटक पटक नयाँ पठाउन भनिरहेको छ । स्थानीय तहमा कर्मचारी पठाउने अधिकार संघ सरकारकै हो ।
तर, ओलीको व्यक्तिगत टकराव र इगोका कारण महानगरका कर्मचारीले सास्ती भोग्नुपरेको छ । भलै यसमा मेयर बालेन्द्र शाह पनि केही चुकिरहेकै छन् । तर प्रधानमन्त्रीबाट समन्वयात्मकभन्दा असहयोगको भावना प्रकट हुनु पनि विपरीत बुद्धिको अर्को उपज हो ।
हिटलर शैलीको आधिकारिक पुष्ट्याइँ
ओलीले हिटलर शैली देखाएको प्रश्नले तर्सिएको सरकारले फागुन २१ गते दुई पत्रकारको संसद छिर्ने पास निलम्बन गरिदियो । तर, ओलीका केही कदमले उनको हिटलर शैलीको पुनर्पुष्ट्याइँ गरिरहेको छ।
१– विवादित व्यवसायीबाट जग्गादान लिने निर्णयको आलोचना गरेकै भरमा डा.भीम रावल,बिन्दा पाण्डे र उषा किरण तिम्सेनामाथि कारबाही
२– ओलीविरुद्ध लेखेपछि लुम्बिनी प्रदेशका सांसद दुुर्गा चौधरी निलम्बित
३– कोशीका पूर्व सांसद तथा उदयपुरका नेता बिमल कार्कीमाथि पार्टीविरुद्ध फेसबुकमा लेखेको आरोपमा कारबाही
४– आफूविरुद्ध नाराबाजी गरेकै भरमा चार युवालाई थुनामा राखेर मुद्दा
यसबाहेक आफ्नो आलोचना सुन्न नचाहने, विरोध गरे विभिन्न निकाय परिचालन गर्नेजस्ता कदम लोकतान्त्रिक गणतन्त्रमा तानाशाहको प्रवृत्ति हो। यतिका सब हुँदा पनि ओली सरकारलाई सत्ता घटक कांग्रेसको अगाध समर्थन रहिरहेको छ।
कांग्रेस सभापति देउवाले ओलीले जे गरे पनि पूरा साथ हुने भनेका छन्। गगन थापा, विश्वप्रकाश शर्मा लगायतहरु सरकार उल्टो बाटो हिँड्यो, बिडम्बना भन्दैछन्। यो पनि उनीहरुको फेस सेभिङ र ड्यामेज कन्ट्रोलका लागि रोनाधोना मात्रै जस्तो देखिन्छ। नत्र सरकार चलाउने संयन्त्रका सदस्य रहेका गगनले कि त ऊर्जामन्त्रीलाई हटाउने, आवश्यक परे समर्थन फिर्ता लिनेसम्मको हिम्मत देखाउनुपर्छ। आफ्नो कार्यशैलीकै कारण अनेकथरीका आन्दोलनको आँधीबेहरी आउनु र जनताको नजरमा असफल सावित भइसकेको आभाष गरेका छन् भने ओलीले अब नैतिकता देखाएकै बेस।