गणतन्त्रवादीलाई १५ गतेको जनप्रदर्शनमा उपस्थित हुन मोर्चाको आह्वान
काठमाडौं। समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा गर्ने जनप्रदर्शनमा उपस्थित हुन गणतन्त्रवादीहरुलाई आह्वान गरेको छ।
बुधवार नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको तर्फबाट १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मोर्चाको तर्फबाट १५ गते गर्न लागेको प्रदर्शनमा सम्पूर्ण गणतन्त्रवादीलाई उपस्थित हुन आह्वान गरे।
उनले गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीहरुप्रति जनताले गरेको समर्थन र विरोधको नेताहरुले आत्मसमीक्षा गरिरहेको बताए।
उनले नेपालको समाजवादको यात्रा रोक्न प्रतिगामीहरुको आन्दोलनमार्फत विदेशी शक्तिले षड्यन्त्र गरेको जिकिर गर्दै नेपालीलाई सचेत हुन आग्रह गरे।
‘नेपाली जनताको धेरै ठूलो आन्दोलन र त्यागबाट गणतन्त्र स्थापना भएको हो। यद्यपि गणतन्त्रको अभ्यास गर्ने क्रममा केही लिमिटेसन छन् आफ्नै ठाउँमा। जनताले त्यसमा समर्थन पनि गर्या छन् र विरोध पनि गर्या छन्।
राजनीतिक पार्टीहरुले पनि महसुस गर्नुभएको छ र आत्मसमीक्षाहरु पनि चलिरहेको छ‚’ उनले भने, ‘पर्सि १५ गतेको कार्यक्रम प्रतिगमनविरुद्ध‚ विदेशी षड्यन्त्रविरुद्ध, प्रतिगामी तत्वहरुविरुद्ध, यथास्थितिवादीहरुको रवैयाविरुद्ध सशक्त आन्दोलनको रुपमा यसलाई सम्पन्न गरौँ भन्ने निर्णय गरिएको छ।
१५ गतेको कार्यक्रममा सहभागी हुन गणतन्त्रको रक्षा चाहने सबैलाई वामपन्थी, कम्युनिष्टहरुलाई समाजवादी मोर्चाको तर्फबाट विशेष अपिल गर्ने निर्णय गरेका छौँ।
प्रवक्ता विश्वकर्माले अग्रगमनको विरुद्धमा हुने सबैखाले क्रियाकलाप सह्य नहुने बताए। उनले राजनीतिक प्रतिगामीहरुको भ्रममा नेपाली नपर्ने जिकिर गरे।
सत्ताबाट न्याकिएका शासकहरु जहिले पनि सत्तामा फर्किने कुचेष्ठा गरिरहेकै हुन्छन्‚ दिवा सपना देखिरहेकै हुन्छन्। राजावादी भन्नेहरु, हिजोका भाइभारदारहरु अहिले सल्बलाइरहेका छन् त्यतिमात्रै ठूलो कुरा छैन तर विदेशी शक्तिहरुको पनि उनीहरुप्रति कतै न कतै आशक्ति देखिन्छ‚ उनले भने,कतै न कतै सपोर्ट देखिन्छ यो सिरियस छ। त्यसकारण नेपाली जनता र यो देशको निम्ति गणतन्त्र र लोकतन्त्रका विरुद्ध नेपाली जनाता र यो देशको समाजवादको यात्रालाई रोक्ने षड्यन्त्र कतैबाट हुन्छ भने त्यो हामीलाई सह्य हुँदैन।