‘कुलमानलाई हटाएर सरकारले गल्ती गर्यो’: अध्यक्ष भट्टराई
दाङ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकाले अहिलै नै हटाउनु गलत भएको आफ्नो धारणा राखेका छन्।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै उनले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने पनि बताए । उनले भने, ‘म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थे , अहिलै उनलाई चलाउनु सही थिएन ।’
संस्थान र प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरूमा दलीय हस्तक्षेप र नियन्त्रण हुनु हुँदैन भनेर थिति बसालेको भएपनि पछिल्लो समय त्यो भत्किएको भट्टराईले बताए। उनले यस्ता समस्या विधिले हल गर्नका लागि आफू सरकारको नेतृत्वमा छँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि स्मरण गरेका थिए।
पछिल्लो समय त्यो निर्देशन बोर्ड भत्काइएको र चरम दलीय हस्तक्षेपका कारण सरकारको आलोचना भइरहेको उनको भनाइ थियो । कुलमानलाई हटाएकोबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए ।
यसै सन्दर्भमा उनले नेपालको राजनीति गम्भीर संकटमा रहेको टिप्पणी गर्दै निर्वाचन प्रणालीलाई सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि धारणा राखे । उनले यो व्यवस्था नभएकैले पनि अस्थिरता रहेको बढेको बताए।