काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा: प्रशासन

काठमाडौं। काठमाडौंकाे उपत्यकामा आज गणतन्त्रवादी र राजतन्त्रवादीकाे छुट्टाछुट्टै समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था बलियो बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै गणतन्त्र पक्षधर र विरोधी राजावादी समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले दुई छुट्टाछुट्टै स्थान तोकी सही अनुसारको सुरक्षा व्यवस्थापन मिलाएको बताएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग-भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा सतर्कतासहितको तयारी गरेको जानकारी दिए।

‘दुई समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम स्थल, र्‍यालीका लागि प्रयोग गरिने रुट फरक पारी सभास्थलको सुरक्षा चुस्त पारेका छौँ’, उनले भने।

दुवै पक्षले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गरेको पनि उनले जानकारी दिए।

समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा समूहले गणतन्त्रका पक्षमा प्रदर्शन गर्दैछन्।

त्यस्तै राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरिएको छ।