काठमाडौंमा एसएसपीको कमाण्डमा ३५ सय प्रहरी परिचालन
काठमाडौं। आज काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। राजावादी र गणतन्त्रवादीको शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै आज काठामाडौं उपत्यकामा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो।
गणतन्त्र पक्षधर समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनीमार्ग र व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले तीनकुनेमा प्रदर्शन गर्दैछन्।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन्।
दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ।
उपत्यका प्रहरी कार्यालयले काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीको नेतृत्वमा ३५ सय प्रहरी खटाएको छ । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन्।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालका अनुसार सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ।
कमान्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन्।