राजावादी अराजक हुनसक्ने आकलन, ड्रोनबाट पनि निगरानी

काठमाडौं। काठमाडौंमा आज हुने गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।गणतन्त्रवादीले प्रदर्शनीमार्ग (भृकुटीमण्डप) र राजावादीले कोटेश्वरको तीनकुनेमा सभा आयोजवना गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण रूपमा गराउन काठमाडौंमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ।

नेपाली सेनाको ‘इन्टेलिजेन्स’ टोली समेत खटाइएको छ । उपत्यका प्रहरी कार्यालयअन्तर्गत नियमित खटिने टोलीभन्दा करिब चार हजार प्रहरी थप गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।

उनका अनुसाार सादा पोसाकका प्रहरीले दुवै पक्षका प्रदर्र्शनकारीको गतिविधि नियाल्न ड्रोन क्यामेरा समेत प्रयोग गरिने छ । गर्ने यस्तै, प्रहरीले भीड नियन्त्रणका निम्ति ‘वाटर क्यानन’ तयारी अवस्थामा राखेको छ।

प्रदर्शनकारीले ‘अनावश्यक’ फोन नगरून् भनेर कल सम्पर्क टावरमा अवरोध गर्ने उद्देश्यले जामरको प्रयोग गरिने तयारी छ। राजावादी र गणतन्त्रवादी प्रदर्शनकारीबीच एकापसमा मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूका रुट फरक–फरक तय गरिएको छ।

गणतन्त्रवादीभन्दा राजावादीको प्रदर्शन अराजक हुन सक्ने आँकलन गरिएको छ । उनीहरूलाई तीनकुनेबाट बानेश्वरतर्फ अघि बढ्न नदिने योजनासहित सुरक्षा टोली खटाइएको छ।

गणतन्त्रवादीको प्रदर्शनको नेतृत्व समाजवादी मोर्चा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गरेका छन्।

राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन्। आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ।