तिनकुने-नयाँ बानेश्वर सडक पूर्णरुपमा बन्द

काठमाडौं । गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडक बन्द गरेर सुरक्षा पारेको छ । नयाँबानेश्वर चोकबाट तिनकुनेतर्फ जान रोकिएको छ भने तिनकुनेबाट सिभिल अस्पताल अगाडितर्फबाट संसद भवनतिर आउने सडक बन्द गरिएको छ ।

प्रहरीले ब्यारिकेड राखेर सडक बन्द गराएको हो। हतियारसहितका सुरक्षाकर्मीहरु तैनाथ छन् । सो सडक खण्ड पूर्णरुपमा बन्द गरिएको छ ।

गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकहरुमा सवारी आवागमन अस्तव्यस्त भएको छ । तिनकुने क्षेत्रमा राजावादीहरुको सभा हुँदैछ । भक्तपुर, चाबहिललगायतका क्षेत्रबाट ¥यालीसहित राजाका समर्थकहरु पुग्ने क्रम जारी छ ।

राष्ट्रिय झण्डा बोकेका उनीहरुले राजसंस्था पुनस्र्थापना, गणतन्त्र खारेजी लगायतका माग राख्दै नारा लगाएका छन् । कतिपयले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्का नारा लगाएका छन् । केहीबेर अघि तिनकुनेबाट नयाँबानेश्वरतर्फ आउने सडकनेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । तर, अहिले अवस्था सामान्य देखिएको छ ।