विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र भयो: महासचिव विप्लव
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरूलाई लक्षित गर्दै विदेशीको उक्साहटमा सामन्तीद्वारा गणतन्त्रविरुद्ध षड्यन्त्र चलेको बताएका छन्।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँमा गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले केही तत्त्व गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै यस्तो बताएका हुन्।
उनले सामन्तवादी बन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिए।
नागरिकका सबै चाहना पूरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उनको भनाइ छ। उनले जनतासँग हारेर सत्ता गुमाएका तत्व विदेशीको उक्साहटमा गणन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको बताए।
विप्लवले भने,गणतन्त्र आएपछि नेपालमा केही नेताको उठिवास भएको छ। विदेशी तत्त्वहरूको उक्साहटमा देशमा हराइएका र जनताको बलद्वारा धुलो परेका सामन्ती तत्त्वद्वारा गणतन्त्रविरुद्ध फेरि एउटा षड्यन्त्र चलिरहेको छ। हामीलाई प्रभुहरूको खाँचो छैन। हामीलाई महासामन्तको खाँचो छैन।
उनले गणतन्त्रको पक्षमा लडेका नागरिकहरू अधिकार सम्पन्न भई नसकेका कारण आफूहरू अगाडि बढ्न खोजिरहेको बताए।