गृहमन्त्रीले गरे तीनकुने क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीले प्रदर्शका क्रममा क्षति पु¥याएको तीनकुने–कोटेश्वर क्षेत्रको अवलोकन गरेका छन् । केहीबेरअघि तीनकुने पुगेर उनले अनुगमन गरेका हुन्।

शुक्रबार राजवादीले गरेको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको थियो। आन्दोलनकारीहरुले तीनकुनेको एक घरमा आगो लगाएका थिए भने आसपासका क्षेत्रमा कैयौँ घरमा तोडफोड गरेका थिए।

केही घरमा पसेर उनीहरूले त्यहाँ रहेका कार्यालयमा तोडफोड र आगजनी समेत गरेका थिए। पेरिसडाँडा, च्यासल र बालकुमारी क्षेत्रमा गाडी तथा मोटरसाइकलमा आगजनी र तोडफोड समेत भएको थियो।

त्यस्तै गृहमन्त्री  लेखकले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका छन्।

उनले आज बिहान आलोकनगरस्थित केन्द्रीय कार्यालय पुगेर शुक्रबार राजावादीले प्रदर्शनका क्रममा गरेको तोडफोड र आगजनीबाट भएको क्षतिको निरीक्षण गरेका हुन्।

पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए। त्यस अवसरमा उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

आजै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत समाजवादी मोर्चाका नेताहरूले उक्त पार्टीको कार्यालयमा भएको क्षतिबारे जानकारी लिएका थिए।