संसद सचिवालय पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ।

राजावादीको प्रदर्शनमा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राणा पक्राउ परेपछि उनी पक्राउको सूचना संसद सचिवालय पुगेको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिए।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ। संसद नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ। प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ।