आर्थिक लेनदेनको अडियो बाहिरिएपछि मन्त्रीले दिए राजीनामा

कैलाली। सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन्। आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा दिएका हुन्।

छानबिनमा सहयोग गर्ने भन्दै मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएको मन्त्री चौधरीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। लेनदेनको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले तत्काल राजीनामा दिन निर्देशन दिएका थिए। ​सत्यतथ्य छानबिनमा सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिएको चौधरीले बताए।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले केही काठ व्यवसायी र पार्टीका व्यक्तिबीच छलफल भएको तर, नियत गलत नभएको दाबी गरेका छन्। ‘नयाँ मन्त्रीका रूपमा जाँदा कर्मचारीसँग छलफल हुनु सामान्य हो’ उनले भने, ‘तर यसमा बदनियत छैन।

आर्थिक चलखेल गर्ने गरी आर्थिक लेनदेनमा मन्त्री चौधरी समेत संलग्न भएको अडियो सार्वजनिक भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो कार्यविधि पास गर्न लागेको छ।

दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गर्ने बताएका मन्त्रीले ‘२५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने’बताएको सुनिएको छ। लामो समयदेखि वनमा रहेका ढलापडा काठ व्यवस्थापन गरेर ठूलो धनराशी कमाउने चलखेल भएको अडियोमा स्पष्ट सुनिन्छ।