राजावादीले पुर्याएको क्षति उनीहरूबाटै भराउन समाजवादी मोर्चाको माग

काठमाडौं। समाजवादी मोर्चाले तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ।

सोमबार बिहान माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको मोर्चाको बैठकले सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र उक्त घटनाको मूल्यांकन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको निष्कर्ष निकालेको हो।

त्यस्तै बैठकले १५ चैतमा हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।

मोर्चाले यस्ता गतिविधिको सशक्त भण्डाफोर र प्रतिवाद गर्न दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने निर्णय गरेको नेता विश्वकर्माले जानकारी दिए।

‘कार्यक्रम डिजाइनमा छ, योजनाबद्ध छ। आगामी दिनमा पनि घटना घट्न सक्छन्। यो घटनामा डिजाइनकर्तालाई सशक्त कार्बाहीका लागि डेलिगेसन नै गएर सरकारसँग दोषीमाथि कारबाही र क्षतिपूर्ति भराउन माग गर्छौं,उनले भने,त्यस्तै, गणतन्त्रको रक्षा र सामन्तवादीहरूको हर्कत रोक्न गणतन्त्रवादीहरूसँग अन्तरक्रिया गर्ने र यसको मिति मोर्चाको सचिवालयले तोक्ने निर्णय गरेका छौं ।