पूर्वराजा रोक्न भारत गुहार्दै राजनितिक दलहरू, कसको भूमिका कस्तो ?

काठमाडौं। नेपालमा राजावादी र हिन्दु धर्मको पक्षमा आवाज उठ्दा त्यससँग प्रत्यक्ष ठोकिने पक्ष हो भारत। नेपालको व्यवस्थाविरोधी हरेक आन्दोलनमा प्रत्यक्ष परोक्ष भूमिका खेलेको भारतीय वायुबिना नेपालमा यस्ता गतिविधि हुनै नसक्ने दाबी गरिन्छ। इतिहासले पनि त्यो देखाउँछ। यस्तो अवस्थामा अहिले पनि राजावादी सल्बलाउँदा भारतको चासो र दलहरुको अस्वभाविक दौडलेसमेत केही संकेत गरिरहेको छ।

देशमा राजावादी र गणतन्त्रवादीको टसल उत्कर्षमा रहँदा भारत फ्याक्टर थप सक्रिय बनेको छ । नेपालमा गणतन्त्रवादीहरुले भारतकै उक्साहटमा राजावादी सल्बलाएको निष्कर्ष निकाल्दा निर्मल निवासको सक्रियतालाई समेत त्यसकै उपजका रुपमा हेरेका छन्।

अर्कोतर्फ भारतीय सञ्चारमाध्यमहरुले नेपालमा भइरहेको आन्दोलनलाई दिएको स्थान र उनीहरुका विश्लेषणले समेत थप पुष्ट्याइँ गर्दा नेपालबाट समेत अनेकन प्रयासहरु सुरु भएका छन् । नेपालमा आन्दोलन चलिरहेकै समय प्रथम राष्ट्रपति रामवरण यादव दिल्ली पुगेका छन् ।

उनी उपचारका लागि दिल्ली गएको भनिए पनि राजनीतिक भेटवार्ताको उद्देश्य पनि रहेको उनी निकट स्रोत बताउँछ । ०६२÷०६३ सालको दोस्रो जनआन्दोलनका समयमा पनि भारतमा लामो समय बसेका उनी राजा ज्ञानेन्द्र शाहले गद्दी त्यागेपछि मात्र नेपाल फर्किका थिए । त्यसपछि भारतको समेत इन्ट्रेस्टमा उनी नेपालको पहिलो राष्ट्रपति बनेका थिए ।

अर्कोतर्फ उनी दिल्ली गएकै समय उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नेपाली राजदूत डा। शंकर शर्माबीच भेट भएको छ। नेपालमा राजसंस्था समर्थनको आन्दोलन चर्किनु, त्यसमा योगीको तस्वीर, आरएसएसको सहयोग लगायतको आरोप लागेका बेला भइरहेका यस्ता गतिविधिलाई सामान्य भेटघाटका रुपमा मात्र सीमित गर्न सकिने अवस्था छैन।

यसअघि चैत ५ गते परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको भेटमा आरजुले नेपालमा राजावादीलाई उक्साएको हो भन्दै प्रश्न गरेकी थिइन् । तर, जयशंकरले भने आफूहरुको संलग्नता नरहेको बताएका थिए।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने भारतको समग्र संस्थापनलेभन्दा पनि भाजपाको मातृ संस्था आरएसएस र योगीले नेपालमा घोषित अघोषित रुपमा आफ्नो प्रभाव बढाउन चाहेका छन्।

आरएसएसको नेपाली लगानी रोक्नुपर्ने भन्दै भाजपामा छलफल नै भएको थियो । यस्तो अवस्थामा मोदीको उत्तराधिकारी बन्न अमित शाह र योगीबीचको टक्करले पनि नेपालमा प्रभाव जमाउने प्रतिस्पर्धा बढेको छ।

नेपालका नेताहरुसमेत भारतीय शक्तिपीठ धाउनेदेखि महाकुम्भ स्नानमा सरिक भएर भारत रिझाउने होड चलेको थियो । कुम्भ समिटमा जान लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत बीच बाटोबाटै फर्काइएको थियो।

अर्कोतर्फ, नेपालमा पनि राजा फर्काउन निर्मल निवासले कांग्रेसको एक तप्काको साथ खोजेको छ । तर, सभापति देउवा नै नेपाल हिन्दुधर्म मान्नेहरुको देश भएको भन्दै हिन्दु कार्ड खेलिरहेका छन् भने अरु नेताहरु राजा फर्काउन नसकिने भए पनि हिन्दु राष्ट्रको पक्षमा रहेको बताइरहेका छन्।

ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा देउवालाई उनले दुःख दिएका कारण पनि देउवा राजा फर्काउने अवस्थामा छैनन्। अरु नेताहरुको पनि आशय बुझ्न विगतमा संवैधानिक हुने छुट दिँदा श्री ५ ले हात लम्काउन खोजेपछि फेरि त्यो भूल नगर्ने बरु संघीयता र धर्म निरपेक्षताबारे पुनर्विचार गरी राजावादीका गतिविधि निस्तेज पार्ने लाइनमा छन्।

यसो हुँदा हिंसात्मक अवस्थामा पुगेको द्वन्द्व रोकिन्छ त भन्ने अर्को प्रश्न छ। भलै यो आन्दोलनमा भारतीय वायुको प्रभाव पनि देखिँदा आदित्यनाथ फ्याक्टर नै निर्णायक हुने देखिन्छ। विश्लेषकहरु भने द्वन्द्व नचर्काई समाधान खोज्ने भए नेपाली सेना वा भारतमार्फत मध्यस्थता खोज्न सुझाइरहेका छन्।

यी सबै गतिविधिको निर्णायक प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेट पनि हुन सक्नेछ। उनीहरुबीच थाइल्यान्डमा साइडलाइन वार्ताको तयारी छ। ओलीसँगको सम्बन्ध ठिकठाक नचलेकै कारण राजावादी भड्काएको आरोप लाग्दा यो भेट पनि नेपालमा चलिरहेको आन्दोलनका लागि सञ्जिवनी बुटी बन्नसक्ने अपेक्षा गरिएको छ।