सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौती: राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताएका छन्।

बुधवार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिता बलियो भएको बताए।

उनले प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भुमिका महत्त्वपूर्ण रहेको बताए।

उनले आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको भन्दै रेडियो नेपालको साढे सात दशक लामो प्रशारण यात्राले फड्को मारी विभिन्न जातजाति र भाषाभाषीको आवाज बन्न सकेको बताए।

मुलुकमा लोकतन्त्रको स्थापनापछि सञ्चारमाध्यमको विकासले गति लिएको भन्दै उनले प्रभावकारी सञ्चालनका लागि चुनौती थपिएको बताए।

राष्ट्रपति पौडेलले भने, ‘लोकतन्त्रको स्थापनासँगै मुलुकमा आमसञ्चारको विकास र विस्तारले गति लिएको छ।

संविधानले व्यवस्था गरेको नागरिकको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

सञ्चारमाध्यम विपद्का वेला आमनागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प र कोरोना महामारीको विपत्तिका बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले गरेको योगदानबाट पुष्टि भएको छ।

यस्तो अवस्थामा प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण सम्प्रेषणबाट जनतालाई भ्रमित हुने खतराबाट जोगाउनु जिम्मेवार सञ्चारमाध्यमको दायित्व हो।

राष्ट्रपति पौडेलले सञ्चारमाध्यमको महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताए। नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ छ।