तीनकुने घटनाः राजावादी आन्दोलनमा भएको कमजोरी लुकाउँदै सरकार,प्रहरीको झुटो दाबीको प्रदाफास
काठमाडौं।काठमाडौंको तीनकुने घटनामा सरकारले कमजोरी लुकाउँदै गएको आरोप लाग्न थालेको छ। नेपाल प्रहरीले झुटो विवरण पेस गरेको राजनितिक विश्लेषकदेखि जनताले नै बताउन थालेका छन्।
यही चैत १५ गते काठमाडौंको तीनकुने–कोटेश्वर क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको आगजनी,तोडफोडलगायतका हिंसात्मक गतिविधिको छानबिन गर्न न्यायिक समिति गठन गर्न चौतर्फी माग भइरहेको छ। जति दिन बित्दै गयो,त्यति नै प्रहरीको भूमिकाबारे प्रश्नहरू थपिन थालेका छन्।
घटनामा सुरक्षा संयन्त्रको कमजोरी रहेको भन्दै आलोचना भइरहेका बेला सत्तागठबन्धन दलका नेताहरूले समेत छानबिनका लागि न्यायीक समितिको माग गरेका छन्। तर, सरकार भने ती मागहरूको वेवास्ता गर्दै आफ्नो कमीकमजोर ढाकछोप गर्न लागिपरेको छ।
प्रहरीमाथि अहिले राजावादी समूहले स्टेजमा कार्यक्रम गरिरहेका बेला अश्रुग्याँस हानेर परिस्थिति बिथोल्न खोजेको आरोप समेत लागिरहेको छ। कतिपयले राष्ट्रगान बजिरहेका बेला प्रहरीले अश्रुग्याँस हानेपछि परिस्थिति थप अराजक बनेको बताइरहेका छन्।
भीडमा आपराधिक मानसिकताका व्यक्तिहरू समेत भएपनि प्रहरीले अश्रुग्याँस हानेपछि थप अराजकता बढेको उनीहरूको विश्लेषण छ। तर, केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्य भने त्यो डिप फेक भिडियो भएको दाबी गर्छन्।
उनले भनेका छन्,उहाँहरूले कार्यक्रम सुरु गर्नु अगाडि नै हो।त्यहाँनेर राष्ट्र गान कहीँ बजेको छैन।त्यो डिप फेक भिडियो हो।यद्यपि,त्यहाँ राष्ट्रगान बजेका बेला अश्रुग्याँस हानिएको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक छन्।
सचित राईडस नामको युट्युब च्यानलमा तीनकुनेमा भएको प्रर्दशनको करिब १ घण्टा १३ मिनेटको भिडियो छ। भिडियोको ३६ मिनेट ०१ सेकण्डमा पृष्ठभूमिमा राष्ट्रगान बज्न सुरु हुन्छ । भिडियोमा ‘त्यहाँ हान्यो (अश्रुग्याँस) हान्यो’ भनेको सुनिन्छ।
भिडियोको ३६ मिनेट २६ सेकेण्डमै राष्ट्रगान बज्न रोकिन्छ। त्यसपछि ३६ मिनेट ३१ सेकेण्डमा स्टेजमा अश्रुग्याँसको धुवाँ देखिन्छ। ८६ वर्षीय नवराज सुवेदी त्यहाँ पुगे राष्ट्रगान बजाएर कार्यक्रमको औपचारिक सुरुवात हुने तयारी हुँदै थियो। त्यही बेला एक्कासि तीनकुने चौरमा अश्रुग्याँस खसेको थियो।
यो प्रदर्शनमा भएका हिंसात्मक घटनाहरूमा के–के भएको थियो भन्नेबारे आरोप, प्रत्यारोप र दोषारोपण जारी छ। प्रहरीले नागरिकका घरमाथि लुकेर अश्रुग्याँस हानेको भन्ने आरोप पनि छ। तर,प्रहरीले भने उक्त आरोपको खण्डन गर्दै आएको छ।
यो प्रकरणसँगै तीनकुनेबाट कोटेश्वर जाने मुल सडकमा भीड पछि हट्दै गरेको बेला युवकलाई गोली लागेको भिडियो सार्वजनिक भएपछि प्रहरी दबाबमा परेको छ।
आवश्यकता नै नभएको ठाउँमा अगाडिबाट गोली हानेको भन्दै छानबिनको माग उठिरहेको छ । तर, प्रहरी प्रवक्ता आचार्य भने कसैलाई पनि अगाडिबाट गोली नलागेको जिकिर गर्छन् । बाहिर सार्वजनिक भए जस्तो ती व्यक्ति मृतक सविन महर्जन भने नभएको उनको दाबी छ।
प्रहरीले नै उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार मात्र प्रहरीले ५८ राउन्ड गोली चलाएको थियो भने ७४६ राउन्ड अश्रुग्याँस हानेको थियो। यता सशस्त्र पहरीले कति गोली चलायो भन्ने विवरण आएको छैन।
शुक्रबार यति धेरै फायरिङ गर्नुपर्ने अवस्था किन आयो रु प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोली चल्यो रु गल्लीमा रहेका आमनागरिक पनि कसरी घाइते भए ? यस्ता प्रश्न आमनागरिकका मनमा छन्।
प्रहरी अधिकृतहरू नै पनि शुक्रबार सुरक्षा दृष्टिकोणबाट गम्भीर चुक भएको बताउँछन्। पत्रकार र आम मानिसले खिचेका विभिन्न भिडिओ फुटेज,प्रत्यक्षदर्शीले दिएका फरक फरक र कतिपय सन्दर्भमा बाझिने बयानले यो घटनाको प्रस्ट तस्बिर बुझ्न सहयोग गर्नुभन्दा अन्योल थपिएको छ।
त्यसमाथि काँटछाँट गरिएका र डिपफेक भिडिओसम्म प्रयोग भएको छ भन्ने दाबीले यो घटनाको यथार्थ तस्बिर झनै दुरूहपूर्ण बन्दै गएको छ। त्यसैले तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन क्रममा भएका हिंसात्मक गतिविधिको न्यायिक समिति गठन गरी छानबिन आवश्यक देखिन्छ।
प्रहरीले कोही पनि सर्वसाधारणलाई पछाडिबाट गोली नहानेको दाबी गरे पनि त्यसरी हिँड्दै गरेका निहत्था प्रदर्शनकारीमाथि किन गोली चलाइयो भन्ने जबाफ दिन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाका योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको किटानी नै गरिसकेका छन्।
सत्तारुढ दलदेखि प्रमुख विपक्षीदलसहितले घटनाका मुख्य दोषी शाह नै भएको सार्वजनिकरुपमा आरोप लगाइरहेका छन्। तर, सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति बनाउन सकेको छैन। राजा बन्न सडकमा भाँडभैलो सुरू गर्नमा ज्ञानेन्द्र शाहको भूमिका छ कि छैन वा उनकै इसारा र लगानीमा यो भइरहेको छ,यसको पनि यकिन हुन जरूरी देखिएकाे छ।