पूर्वराजामा संवेदना नदेखिएको संसददेखि सडकसम्म विरोध,सरकारका गल्ति छरपष्ट हुँदै

काठमाडौं। यही चैत्र १५ गतेको घटनामा सरकारको कमजोरी छरपष्ट भएको भन्दै प्रश्नहरु उठिरहेका छन्। यता, तीनकुनेमा हिंसा भड्काएर भागेका दुर्गा प्रसाई प्रहरीको नियन्त्रणमा आउन अझै सकेका छैनन्। अहिले यसै घटनाका विषयमा जवाफदेहीता खोज्न थालिएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गएको फागुन ७ गतेका लागि संप्रेषण गरेको सन्देशकै जगमा चैत्र १५ गते मच्चिएको तीनकुने घटनाले अहिले पनि तरंग राखेकै छ। पूर्वराजाले फागुन ७ मा दिएको सन्देशले राजावादी शक्ति,समूह र पार्टीहरु हौसिन पुगे। त्यहि अभिव्यक्तिलाई केन्द्रमा राख्दै ज्ञानेन्द्र शाहको दरबार फिर्तिको नारा चर्किन थाल्यो।

यसको एक अंश बन्यो,चैत्र १५ गते तीनकुनेमा प्रदर्शन। तीनकुनेमा के के भयो ती विषयहरु सार्वजनिक हुनेक्रम जारी छ। तर, तीनकुने प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी भने जिम्मेवार बन्न नसक्ने भन्न थालेको छ।

यसको झल्को राप्रपा सांसद बुद्धिमान तामाङले दिए। संसदीय समितिमा सांसद तामाङले स्टेजमा दुर्गा प्रसाईको फोटोदेखेपछि गलत भयो भन्दै आफू बाहिरिएको दाबी गरिदिएका छन्।

तामाङले तीनकुने प्रकरणमा छानविन आयोगको माग समेत गरेका छन्। कानूनतः दोषी देखिनेलाई कारबाहीको माग पनि गरेका छन्। यता, अन्य दलका सांसदहरुले पनि चैत्र १५ गतेको घटनामा अनेक प्रश्नहरु गरेका छन्। उनीहरुले गृहमन्त्रीलाई बोलाएर तीनकुने प्रकरणमा प्रश्न गर्न पाउनुपर्ने भनिरहेका छन्।

सरकारले तीनकुने प्रकरणमा सुरक्षा संवेदनशीलता अपनाउन नसकेकोदेखि दुर्गा प्रसाईले अराजकता फैलाएको निष्कर्ष समितिले निकालेको छ। यहि निष्कर्ष निकाल्नेमा राप्रपा अग्रपंक्तिमा देखिन्छ। तर, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने पूर्वराजा ज्ञानेन्द्र शाहमा मानवीय समवेदना समेत नभएको भन्दै क्रोधित देखिन्छन्।

सांसदहरुले यसरी विभिन्न प्रश्न उठाएपनि यसको निराकरण कहिले होला ? तीनकुने प्रकरणको छानविन र दोषीमाथि कारबाही होला ? प्रश्नहरु अनुत्तरित नै देखिन्छन्। यस्तोमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई आज (चैत्र २२ गते) बोलाएर यसबारे जानकारी लिने भएको छ।

गृहमन्त्रीले यसबारेको जवाफ कसरी दिन्छन भन्ने विषय चासोमा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले पनि तिनकुनेमा हिंसा फैलाएको भन्दै असन्तुष्टी पोखेका छन्। यस्ता हिंसालाई राज्यले नियन्त्रण गर्नुपर्ने र गणतन्त्रको रक्षाका लागि उभिनुपर्ने अपिल गरेका छन्।

तीनकुने प्रकरणले दुई जनाको ज्यान जानुका साथै धेरै घाइते भएका छन्। निहत्था नागरिकमाथि गोली बर्साएको आरोप लागिरहेको छ भने आन्दोलन प्रदर्शनसँग असम्बन्धितमाथि समेत ज्यादति भएको स्थिति छ। तोडफोडदेखि लुटपाटका विषय त कति–कति यसकाे त लेखा जाेखा नै छैन।

यस्तो स्थितिलाई सरकारले कसरी व्यवस्थापन गर्छ भन्ने विषय भने चासोमा छ। यता, दुर्गा प्रसाईले मच्चाएको अराजकता र त्यसपछिको स्थितिबारे समेत विश्लेषण शुरु भएको छ। यता प्रहरी कमजाेरी लुकाउने प्रयास गरि रहेकाे छ,सरकारले पनि पन्छिने काेशिस गरि रहेकाे चाैतर्फी विराेध हुन थालेकाे छ।