प्रदर्शनकारीले सिंहदरबार,संसद् र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग भयो: आइजिपी थापा
काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको आन्दोलनमा राजावादी प्रदर्शनकारीले संसद्, सिंहदरबार र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरेको बताएका छन्।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी प्रमुख थापाले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका आन्दोलनकारी अराजक र हिंसात्मक बनेपछि प्रहरीले बल प्रयोग गरेको दावी गरेका छन्।
उनले प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसारको बल प्रयोग भएको बताए। स्रोत साधनको अभावका बाबजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अघि बढेको उनको भनाइ छ।
उनले प्रहरीलाई नै मार्ने गरी बुलेट गाडी चलाइएको समेत बताए। उनले प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्छौं भनेकै कारण दुर्गा प्रसाईंलाई फेरि मञ्चतिर पठाइएको स्पष्टीकरण दिए।
उनले आन्दोलन शुरु हुनुअघि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, मञ्चमै उत्तेजक भाषण गरेका कारण प्रहरीले बल प्रयोग गरेको बताए। उनले प्रहरी आफैंले मञ्चमा अश्रुग्याँस नहानेको दाबी गरे।
महानिरीक्षक थापाले भने,आन्दोलनकारीले संसद्, सिंहदरबार, एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसै अनुसार बल प्रयोग गरेको हो। ग्याँस सेल हामीले म्याद नाघेकोबारे जानकारी भएन। हामीले मौज्दातमा रहेको ग्याँस हामीले प्रहार गरेका हौँ तर म्याद नाघेको हान्यो भनेर अफवाह कसरी आयोरु’
नेपाल प्रहरीको लागुऔषध ब्युरो जलाउने प्रयास हुँदा आन्दोलनस्थल भन्दा बाहिर गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको बताए। उनले चैत १५ गते १६१ जनालाई पक्राउ गरिएकोमा ९४ जनालाई जमानीमा छोडेको बताए।
अन्यमाथि राजद्रोह र उपद्रव अपराधमा अनुसन्धान भइरहेको उल्लेख गरे। प्रदर्शनकारीले ३९ गाडीमा क्षति गरेको र प्रदर्शनमा २ जनाको मृत्यु भएको उनले बताए।