लोकतन्त्र विरोधीको पहिलो निशानामा सञ्चारमाध्यमहरु परे: गृहमन्त्री लेखक

फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री रमेश लेखकले लोकतन्त्र विरोधीहरुको पहिलो निशानामा सञ्चारमाध्यम रहेको बताएका छन् । संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले लोकतन्त्रको अभिन्न अंग सञ्चारमाध्यम भएकाले लोकतन्त्र विरोधीहरूको पहिलो निशानामा पर्ने गरेको बताएका हुन्।

गृहमन्त्री लेखकले सरकार सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाका निम्ति संवेदनशील रहेको बताए। उनले भने, ‘सञ्चार र सञ्चारकर्मीमाथि अवाञ्छित दबाब दिने, आक्रमण गर्ने काममा सह्यै हुने छैन, क्षम्य हुने छैन। यसको पूर्णसुरक्षाको प्रत्याभूति दिइनेछ। हामी सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गछैँ।

उनले मुलुकमा जबजब लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हुन्छ, त्यतिबेला सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमणका घटना हुने गरेको बताए। यो देशमा जबजब लोकतन्त्र समाप्त पार्ने कामहरू भएका छन्। त्यतिबेला सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमण हुने गरेको छ’ गृहमन्त्री लेखकले भने, ‘किनभने लोकतन्त्र अभिन्न अंग सञ्चारगृह हुन्।

गृहमन्त्री लेखकले चैत्र १५ गते तीनकुनेमा राजावादीका नाममा भएको हिंस्रक आन्दोलन पनि लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भएको दावी गरे । गृहमन्त्री लेखकले भने, ‘खोजीखोजी आक्रमण भएको छ।

राजनीतिक दलका पार्टी कार्यालयहरूमा आक्रमण भएको छ। यी सबै कुराले पुष्टि हुन्छ कि लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हो। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको रक्षा यो सरकारको पहिलो दायित्व रहेको बताए।

उनले भने, ‘लोकतान्त्रिक अधिकारको निर्वाधरुपमा उपभोग गर्ने विषयमा कुनै वाधा व्यवधान गर्दैनौँ। शान्तिपूर्वक भेला हुने, आफ्ना विचार राख्ने, आलोना गर्ने संविधानले नै अधिकार दिएको छ। तर, हिंसात्मक गतिविधि गर्ने, संविधान फाल्ने गतिविधि, च्यात्ने गतिविधि यो व्यवस्थालाई नै उल्ट्याउने गतिविधि सरकारले हमेसा निष्तेज गर्नेछ।