रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश
काठमाडौं। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो। जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो।रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो।
उच्च अदालतले यसै प्रकरणका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ।
यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने छविलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
त्यसविरुद्ध परेका निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले रवि र छवि दुवै जनालाई थुनामा पठाउने आदेश गरेको हो।
छविलाई थुनामा राखे पनि उस्तै कसुरदार रविलाई धरौटीमा छाडिएको भन्दै सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। उच्च अदालतले सरकारी वकिलको माग बमोजिमको आदेश गरेको हो।
रविले भने एक करोड धरौटी चर्को भएको भन्दै साधारण तारेखमा राख्न माग गर्दै उच्चमा निवेदन दिएका थिए। सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरुले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।