विशेषको दुई फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सो मुद्दामा आयोगले रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरेको थियो। यो मुद्दामा विशेषले गत असार ३१ गते फैसला गरेको थियो।

आयोगले कटहरिया नगरपालिका रौतहटका नगरप्रमुख अजयप्रकाशसमेत विरुद्ध मुद्दा दायर गरेको थियो। जमुनिया बजारमा रहेको सामुदायिक भवनमा ‘टायल्स फ्लोरिङ’को काममा फिल्डमा भए गरेको कार्यभन्दा बढी परीमाण देखाई भुक्तानी गरेको पाइएको थियो।

आयोगले १२ लाख ५२ हजार ९४१ बराबरको बिगो दाबी गरेको थियो। विशेषले सो मुद्दामा गत असार ३१ गते फैसला गरेको थियो। यो मुद्दामा विशेषले गरेको फैसला कानूनसम्मत नभएको दाबी गर्दै शुक्रबार पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।