काठमाडौं प्रदूषित शहरको सूचीमा आज पनि दोस्रो स्थानमा

काठमाडौं। विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आइतबार दोस्रो स्थानमा छ।काठमाडौंको वायुको गुणस्तर एक्यूआई यो समाचार तयार पार्दासम्म २११ मापन भएको छ। यस्तै प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ।

दिल्लीको एक्यूआई २४९ रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडौंको प्रदूषण शनिबार बेलुकीदेखि बढेको हो।

एक्यूआई २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ। गएको आइतबाारदेखि नेपाल प्रदूषित शहरको अग्रस्थानमा पर्दै आएको छ।

आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ। यो भनेको हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ। मौसमविद सञ्जिव अधिकारीले प्रदूषण तत्काल हट्ने नदेखिएको बताए। उनका अनुसार अहिले बिहान काठामाडौंको पारदर्शिता निकै कम भएकाे बताए।

त्यसैले तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण हट्ने सम्भावना नरहेको उनले बताए । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ। कोशी प्रदेशमा क्षेत्रहरूमा बादल लाग्ने र एक–दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको उनले बताए ।