काठमाडौं उपत्यकामा बढ्दो प्रदूषणबारे आमूल परिवर्तन नागरिक पार्टीको चिन्ता

काठमाडौं। आमूल परिवर्तन नागरिक पार्टीले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणको खतरनाक स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्वास्थ्य मन्त्रालयलाई एक पत्र पठाएको छ।

पार्टीका अध्यक्ष दल मर्दन कामीद्वारा हस्ताक्षरित पत्रमा उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यन्त उच्च पुगेको उल्लेख गरिएको छ। पत्रमा बढ्दो प्रदूषणका कारण नागरिकहरूको श्वासप्रश्वास, फोक्सो, आँखा, छाला र हृदयसम्बन्धी समस्याहरू देखिएको चिन्ता व्यक्त गरिएको छ।

प्रदूषणले नागरिकहरूको स्वास्थ्य र जीवनको गुणस्तरमा प्रत्यक्ष रूपमा असर गरिरहेको छ, पत्रमा उल्लेख छ।

पार्टीले प्रदूषण नियन्त्रणका लागि पाँच महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ। तिनमा प्रदूषणको वास्तविक अवस्थाबारे अध्ययन गर्ने, नागरिकलाई प्रदूषणबारे जनचेतना फैलाउने, काठमाडौंको धूलो र वायु प्रदूषण घटाउन दीर्घकालीन नीतिहरू बनाउने, वैकल्पिक इन्धनको प्रयोग बढाउने र प्रदूषणबाट उत्पन्न रोगको उपचारका लागि स्वास्थ्य केन्द्रहरूको क्षमता अभिवृद्धि गर्ने रहेका छन्।

आमूल परिवर्तन नागरिक पार्टीले प्रदूषण नियन्त्रणमा ध्यान नदिए नागरिकको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने चेतावनी दिँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।

प्रेस विज्ञप्ति 

विषय : प्रदूषण नियन्त्रणका लागि पहल गर्ने बारे ।

काठमाण्डौ उपत्यकामा बढिरहेकोे मौसम प्रदूषणको मात्रा अत्यन्तै उच्च भएको छ । जसले उपत्यकावासी नागरिकहरूको स्वास्थ्य र जनजीवनमा गम्भीर असर पुर्‍याईरहेको छ । समयमा वर्षा नहुनु,सवारी साधन यातायातका धुँवा धूलो र अन्य प्रदूषणको मात्राले श्वासप्रश्वास र शारीरिक स्वास्थ्यमा दिनानुदिन समस्या बढिरिरहेको छ । वायु प्रदूषणका कारण मलेरिया, रुघाखोकी, ज्वरो,श्वासप्रश्वासमा समस्या, एलर्जी र हृदयघातको जोखिम बच्चा र बृद्धअवस्थाका साथै दीर्घरोगीहरु प्रभावित भई अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

यस परिपेक्षमा हाम्रो पार्टीले नेपाल सरकार स्वास्थ्य मन्त्रालय लगायतका सम्बन्धित निकायलाई स्वस्थ्य जस्तो गम्भीर समस्याप्रति चिन्ता र चासो राखि ध्यानाकर्षण गराउँदै, पार्टीको तर्फबाट निम्न सुझावहरु सहित तत्काल समस्याको समाधानका लागि हार्दिक अनुरोध गर्दछौं ।

१. प्रदूषणको वास्तविक अवस्था र त्यसको असर बारे स्वस्थ्य चौकी, स्वास्थ केन्द्र निर्माण गर्ने ।

२. नागरिकलाई बढ्दो प्रदूषणकाे खतराका बारेमा जानकारी दिन सचेतना कार्यक्रमको आयोजना छिटो गरियोस् । साथै, प्रदूषणका कारण उत्पन्न हुने रोग र त्यीनका रोकथामका उपायहरू बारेमा जनचेतना फैलाउन अभियान संचालन गर्ने ।

३. काठमाण्डौको धुलो र वायु प्रदूषण घटाउन दीर्घकालीन वातावरण संरक्षण नीतिहरू र योजनाहरू तत्काल बनाउने ।

४. सवारीलाई जतिसक्दो हानिकारक इन्धनको प्रयोग घटाउने,विद्युतीय ईन्धनकाे प्रयाेग गर्ने, हरियाली वृद्धि गर्ने र फोहोर व्यवस्थापन गर्ने ।

५, प्रदूषणबाट उत्पन्न हुने रोगको उपचारका लागि अस्पताल र स्वास्थ्य केन्द्रमा विशेष उपचार कक्षको स्थापना र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने ।

संसारकै पहिलो नम्बर प्रदुषण शहरमा परिणत हालको काठमाण्डौ उपत्यकामा प्रदूषणकाे मात्रा अत्यन्तै चिन्ताजनक समस्याले गम्भीर बनिसकेको छ र यसका कारण नागरिकहरूको जीवनको गुणस्तर तीब्र रुपमा घट्दै गएको अवस्था छ । यसर्थ नेपाल सरकार र सम्बन्धित निकायलाई यथाशीघ्र प्रदुषण नियन्त्रणका उपायहरु अपनाई नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन ध्यानाकर्षण गराउँदछाैं ।

                                                            अध्यक्ष 

                                                        दल मर्दन कामी