शिक्षकहरुको माग सम्बोधन गर्न सरकारलाई नेता कोइरालाको आग्रह
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गरेर काममा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्। नेता कोइरालाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो आग्रह गरेका हुन्।
सरकार र महासंघ (नेपाल शिक्षक महासंघ) बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,नेता कोइरालाले भनेका छन्।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु माघ २० गदेखि निरन्तर आन्दोलनमा छन्।
यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएका छन्। शिक्षा ऐन जारी गराउने सवालमा उनीहरुले यो ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन्।
शिक्षक महासंघले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणासमेत गरेका छन्। उनीहरुको हड्तालले विद्यार्थी भर्ना अभियान प्रभावित हुने सम्भावना छ। शिक्षकहरु एसईई परीक्षाको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने अडानमा रहेकाले नतिजा तयारीमा पनि ढिलाइ हुने देखिएको छ।