कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर’ लगायतका नारासहित प्लेकार्ड बोकेका थिए। उनीहरूले घिसिङको बर्खास्तीलाई अपमानजनक भन्दै सरकारको निर्णयविरुद्ध आक्रोश प्रकट गरे।

गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

सरकारको निर्णयविरुद्ध घिसिङले आफूलाई अवैधानिक ढंगले हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले पुनर्बहालीका लागि अन्तरिम आदेश माग गरे पनि सर्वोच्चको संयुक्त इजलासले त्यस अनुरोध अस्वीकार गरेको थियो। सो निर्णयपछि घिसिङले चैत २२ गते पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका थिए।

प्रदर्शनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत विभिन्न संघसंस्थाको उपस्थिति रहेको छ । प्रदर्शनकारीहरूले घिसिङको योगदानको कदर गर्नुपर्ने भन्दै उनीलाई पुनः प्राधिकरणमा नियुक्त गर्न सरकारसँग माग गरेका छन्।