अवैध लागूऔषधसहित २० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ । धरान, धनगढी, सिराहा, मोरङ, बारा लगायतका स्थानमा प्रहरीले विशेष अपरेसनमार्फत अवैध लागूऔषधसहित २० जनालाई पक्राउ गरेको हो ।

सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

धरान–९ बगैंचा लाइनस्थित डेराबाट ट्रामाडोल १,४४० ट्याब्लेट, नाइट्राजेपाम ७५ ट्याब्लेट, र स्पास्मो ८० ट्याब्लेटसहित विजय साह (३०), निरन्जन यादव(२७), विशेष राई (२५) र निश्चल राई (२६) लाई पक्राउ गरिएको हो ।

धरान–११ मा २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियार ट्रामोल ४६० र स्पास्सपेन ४६९ ट्याब्लेटसहित पक्राउ परेका छन्।धरान–८ भोटेपुलबाट स्पास्मो १२२ ट्याब्लेटसहित राजु क्षेत्री (५६)र सकुल अधिकारी (२९) पक्राउ परेका छन् ।

कैलालीमा तीन जना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका–१९ ललिपुरघाटबाट स्पास्मो ४० ट्याब्लेटसहित विशाल चौधरी (२२), किशोर (१८) र एन्जन चौधरी (१९)पक्राउ परेका छन्।

सिराहामा हेरोइन र ब्राउन सुगरसहित पक्राउ

सिराहा जिल्लामा खैरो हेरोइनजस्तो देखिने करिब २४ ग्राम तथा ब्राउन सुगर जस्तो देखिने ३३ ग्राम लागूऔषधसहित ६ जना पक्राउ गरिएको छ।

सिरहा नगरपालिका–१४ लच्काबाट ९२० मिलिग्राम हेरोइनसहित सुशान्त पंजियार (१९) र विजय महतो (२०), तथा २३ ग्राम ९५ मिलिग्रामसहित काठमाडौँका सुनिल तामाङ(२१) पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लहान नगरपालिका–३ अस्पताल चोकबाट ३३ ग्राम ब्राउन सुगरसहित पवन साह ९२१०, लालबाबु राय ९२१० र अंकेश महतो ९२३० पक्राउ परेका छन् ।

मोरङमा युवक पक्राउ

उर्लाबारी नगरपालिका–५ बाट ट्रामाडोल र स्पाष्मिड गरी १६०–१६० ट्याब्लेटसहित १९ वर्षीय सुजन शिवा पक्राउ गरिएको छ । थप अनुसन्धानका क्रममा उनले सुमन गुरुङ (२९)बाट लागूऔषध खरिद गरेको बताएपछि गुरुङ पनि ट्रामाडोल १,०१६ र स्पाष्मिड ९८० ट्याब्लेटसहित पक्राउ गरिएको हो ।

बारामा गाँजासहित अटो चालक पक्राउ

बारा जिल्लाको पथलैया चोकमा प्रहरीले ना.१ ह ८९६१ नम्बरको अटोबाट ३२ किलो गाँजासहित सोमबहादुर मोक्तान (४२) लाई पक्राउ गरेको हो। उनी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ निवासी हुन्। पक्राउ परेका सबै व्यक्तिमाथि लागूपदार्थ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।