शिक्षकको माग सम्बोधन गर्न विशेष अधिवेशन बोलाउन सकिन्छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आवश्यक परेमा विशेष अधिवेशन बोलाउन सकिने बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलामा माग पूरा नभएसम्म सडक आन्दोलन नछोड्न शिक्षकहरूलाई आग्रह गर्दै उनले शिक्षकहरूलाई सताउने काम सरकारले बन्द गर्नुपर्ने बताए ।

‘शिक्षहरूलाई बधाई भन्न चाहन्छु । तपाई्ंहरूले माग पूरा नभएसम्म आन्दोलन छोड्दिन भन्नु भएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनुस्, कहिले के । हामी तपाईँहरूको साथमा छौँ,उनले भने ।

उनले भने, ‘मैले प्रतिपक्षी सबै दलसँग कुरा गर्न त भ्याएको छैन । प्रतिपक्षीको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्‍यो भने संसद्को विशेष अधिवेशन बोलाउन सकिन्छ । यसका लागि प्रतिपक्षी दलहरूसँग आजैदेखि छलफल गर्ने मेरो विचार छ । सरकारले शिक्षकहरूलाई सताउने काम नगरोस् ।’

शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रीय सडक आन्दोलन चलाइरहेको छ ।

सरकारले शिक्षकलाई औपचारिक रुपमा वार्तामा बोलायो । तर महासंघले वार्ता अस्वीकार गर्‍यो । गत २०८० असोज ५ र १२ गते भएको सहमतिअनुसार ऐन जारी गर्नुपर्ने माग महासंघको छ ।