नेपाल आउने विदेशीलाई पनि स्वास्थ्य बीमामा अनिवार्य आबद्धता लागू गर्दै बोर्ड

काठमाडौ । स्वास्थ्य बीमा बोर्डले वित्तीय जोखिक घटाउन नेपाल आउने विदेशीलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गर्ने भएको छ।आइतवारको बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गरेर बोर्डले उक्त जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले सबै तहका जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था मिलाइने बताए।

यसले ‘युनिभर्सल हेल्थ कभरेज’ भन्ने सरकारको नाराले पूर्णता पाउनुका साथै स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

उनले छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरु समेत एकीकरण गर्दै लैजाने बताए। स्थानीय तहहरुले दिँदै आएको उपचार सहायता तथा स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई समेत बोर्डअन्तर्गत ल्याइने उनको भनाइ छ।

‘सबै तहका जनप्रतिनिधि, सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारी, संगठनिक संस्थामा कार्यरत व्यक्तिहरु, वैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवार, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेतलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था मिलाइनेछ।

उनले भने, ‘जसले गर्दा युनिभर्सल हेल्थ कभरेजको सरकारको नाराले पूर्णता प्राप्त गर्नेछ र स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्नलाई यो कोशेढुङ्गा सावित हुने हामीले ठानेका छौ ।

सबै तहका स्वास्थ्य अनुदानका सेवाहरु एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच कुरा अगाडि बढाइसकिएको समेत कार्यकारी निर्देशक काफ्लेले बताए।