रवि बिनाको रास्वपा पार्टी के होला ? नेताहरू तनावमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामा जाने आदेश भएकै दिनदेखि प्रहरी नियन्त्रणमा छन्।
रविलाई प्रहरीले उनको निवासबाटै रातारात पक्राउ गरेपछि विभिन्न प्रश्न उठिरहेका छन् भने अदालतको आदेशमा समेत प्रश्न उठाइएको छ। यस्तोमा के रविबिनाको रास्वपा सक्रिय अनि प्रभावकारी बन्न सक्ला त? पार्टी जीवननै कमजोर विन्दुमा पुगेको टिप्पणी हुन थालेका छन्।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा मुद्दा पूर्पक्षका लागि थुना छन्। तर, थुनामा पठाउने आदेश पहिलेनै रास्वपाले जनयात्रा गर्ने कार्यक्रम तय गरिसकेको थियो।
चितवनबाट जनयात्रा अभियान भव्यरुपमा अघि बढाउने योजना थियो रास्वपाको। तर, घटनाले अर्कै मोड लियो। रवि लामिछानेले चितवनबाट कार्यक्रम थाल्ने भनेको अघिल्लो राति नै उनी पक्राउ परे।
अर्थात रास्वपाको मियोका रुपमा रहेका रविले जनयात्रा अभियानलाई अघि बढाउन सकेनन्। अन्य नेताहरुलाई उनले अभियान सञ्चालनको जिम्मेवारी सुम्पिय। तर, रविबिनाको जनयात्रा अभियान उद्घाटन कार्यक्रम निकै फितलो बन्न पुग्यो। रास्वपाका नेताहरुले पार्टी राजनीतिलाई भन्दा बढि आक्रोश पोख्ने र लान्छना लगाउने काममा मात्रै समय खर्चिए।
यहाँ न त मुलुकका लागि पार्टीको योजना सुनाइयो,न त जनताको जीवन सहजताका कुनै कुरा सुनिए।रास्वपाका नेताहरुले जनयात्रा घोषणापछि काठमाडौंमा जात्रा चलेको भन्दै आक्रोश पोखे। तर, उनीहरुले सहकारी ठगीमा पीडितलाई न्यायको नेतृत्व गर्ने विषयमा भने कतै बोल्न सकेनन्।
चितवनबाट शुरु भएको जनयात्रालाई नेताहरुले राजनीतिक रुपमा धक्का दिने गरि अघि बढ्नुपर्नेमा न्यून सहभागीताले पनि संकटमा परेको देखिन्छ।
रास्वपाको मूल नेतृत्व रवि लामिछानेमाथि नै गम्भीर आरोपमा थुनामा पठाउने आदेशपछि समर्थक,शुभचिन्तकहरु तनावमा परेका छन्।
रवि लामिछाने रुपन्देही कारागार चलान हुने भएका छन्। सोमबार सरकारी कार्यालय खुलेपछि उनलाई कारागार चलान गरिने बताइएको छ। यसरी हेर्दा रवि पार्टी सभापतिमा फर्किएको ६ दिनमै ठूलो संकटमा फसेका छन्।
सभापतिको जिम्मेवारीसँगै म्यासिफ रिफर्म गर्ने उद्घोष गरेका रविले अब के गर्लान् ? रास्वपाले वैशाखमा गर्ने भनेको महाधिवेशन रविको अनुपस्थितिमा गर्न सक्ला ? प्रश्नहरु उठेकाछन्।
जनयात्रामा होमिने भनेको रास्वपालाई अदालतको झड्काले कस्तो रणनीति तय गर्ने मोडमा पु¥याउला? कार्यबाहक नै कार्यबाहकको कोचाकोचबाट रास्वपाले आफूलाई कसरी अब्बल राजनीतिक दलको रुपमा अघि सार्ला ?रास्वपा समर्थक, नेता कार्यकर्ता र आम जनतामा चासो देखिन्छ।
यसअघि पनि रवि प्रहरी हिरासतमा गएदेखि रास्वपाले आफ्नो उपस्थिति बलियो ढंगले देखाउन सकेको थिएन्। रवि जिम्मेवारीमा फर्किएपछि केहि हौसिएका रास्वपाका नेता कार्यकर्ता फेरि तनावमा देखिन्छन्।
यसको पुष्टी चितवनको जनसभाले नै गरेको देखिन्छ। चितवनको गेष्ट हाउस चौरमा भएको कार्यक्रममा मुस्किलले १५ सयको उपस्थिति हुनुले नै रविबिना रास्वपा खास अघि बढ्न सक्दैन भन्ने संकेत गरिरहेको देखिन्छ।तामझाम र विशेष खुलासा गर्ने भनिएको चितवनको जनयात्रामा जनसहभागीता नै न्यून हुनुले प्रश्न पक्कै उठेका छन्।
रास्वपामा रविबाहेकका नेताहरुले आफूलाई स्थापित गराउन सक्ने स्थिति निर्माण नहुनु र रविको एकल प्रयासबाट रास्वपा चल्ने नचल्ने स्थिति सिर्जना हुनुले पनि अबको रास्वपा कस्तो र कत्रो हुन्छ भन्ने कोणबाट बहस थालिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश ग¥यो, शुक्रबार झण्डै ८ बज्न लाग्दा। ८ बज्नै लाग्दा आएको आदेशपछि प्रहरीले ९ नबज्दै पक्राउको सबै तयारी सक्काइसकेको थियो।
रविको निवासमा प्रहरी तैनाथ भइसकेको थियो। यसरी प्रहरीले देखाएको सक्रियतामाथि अहिले विभिन्न कोणबाट प्रश्न उठेको छ।
छिटो सक्रियता देखाउदा होस वा समयमै नपुग्दा होस, प्रहरीले आरोप खेप्ने गर्छ नै। तर, रवि सहकारी ठगी आरोपमा थुनामा जाने गरि भएको आदेश भने विवादमा परेको छ।
रविलाई थुनामा पठाउने आदेश गरेका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको फैसलामा प्रश्न उठेका छन्। यस पहिले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरेका न्यायाधीश रमेश ढकालले रवि लामिछानेलाई भने थुनामा पठाउने आदेश गरे।आदेश न्यायाधीशको नियमित कर्म नै हो तर, फैसलाको खण्ड नै कपिपेस्ट भएको भेटिदा भने प्रश्न उठेको छ।
फरक प्रकृतिको मुद्दामा गरेको फैसलामा रविको मुद्दाको आदेशका पेज नम्बर ४, ५, ६, ७ र ८ मा भएका विषय सन्दीप लामिछानेको मुद्दामा भएको आदेशको पेज नम्बर ५ देखि १५ सम्मका विषयसँग हुबहु मिल्छन्। यहि विषयले पनि प्रश्न थप उठाएको छ। यी यस्तै कुराले अदालत प्रति पनि जनताकाे विश्वास काम हुँदै गएकाे देखिन थालेकाे छ। र न्याय मुर्ति प्रति प्रश्न उठ्न थालेका छन्।