राप्रपाले आज जनसभा गर्दै, कस्तो छ सुरक्षा तयारी

फाइल तस्वीर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित काठमाडौंको बल्खुमा सभा गर्दैछ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी छ ।
उनका अनुसार ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने छ । उनले ३० हजार मानिसलाई सभामा सहभागी गराउने गरी तयारी गरिएको बताए ।
सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्दैछन् । राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिने पार्टी प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो ।
पार्टी प्रवक्ता श्रेष्ठले यो सभा शान्तिपूर्ण र मर्यादित हुने बताए । त्यसका लागि दर्जनौं स्वयंसेवक परिचालन गरिने उनले बताए । उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्नेछन् । घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए ।
दुई हजार प्रहरी परिचालनको तयारी
चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।
सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । सभास्थल वरपर दुई हजार संख्यामा प्रहरी खटाइने छ । सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ ।
राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन्।