सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा स्ववियु निर्वाचन जारी
काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। तर विवादका कारण केन्द्रीय क्याम्पसमा चुनाव स्थगित भएको छ।
विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा सार्वजनिक तालिकाअनुसार बुधबार बिहान ८ बजेदेखि मतदान भइरहेको हो।
निर्वाचन केन्द्रीय क्याम्पससहित १६ वटा क्याम्पसमा तोकिएको थियो। तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ।
तर, विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने एकीकृत समाजवादीनिकट अनेरास्ववियु र नेकपा निकट अखिल समाजवादीलेनिर्वाचन संयोजकको कार्यालयमा संयुक्त रूपमा तालाबन्दी गरेका छन्।
उनीहरूले वास्तविक विद्यार्थीलाई मतदान गर्न नदिने प्रयास भएको आरोप लगाउँदै विरोधस्वरूप तालाबन्दी गरेका हुन्।
उम्मेदवारी दर्ताको अघिल्लो दिन चैत १८ मा तालाबन्दी भएपछि क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया स्थगित गरेको थियो।