काभ्रेको रोशीमा बस दुर्घटना हुँदा ११ जना घाइते
काभ्रेपलाञ्चोक। काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ। प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेर दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको गिरीले बताए।
उनका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो। हाइसका यात्रु भने सकुशल छन्।