टी-२० सिरिज: कुवेतविरुद्ध नेपालको शानदार जित

काठमाडौं। नेपालले कुवतेलाई ६ विकेटले हराएको छ। ओपनर कुशल भुर्तेलको शाननदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी-२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।
मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ। यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो।
कुवेतविरुद्धको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए। १४ औं ओभरमा आसिफ क्याच आउट हुँदा साझेदारी तोडिएको थियो।
आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे। त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए। ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए। उनले समान ६/६ चौका र छक्का प्रहार गरे।
त्यसै ओभरमा स्पिनर यासिन पटेलले कुशल मल्ललाई आउट गरेपछि नेपाल केही दबाबमा रहेको थियो। ६ बलमा ४ रन जोडेका कुशल मल्लले यासिनलाई क्याच फिर्ता दिएका थिए।
त्यसपछि दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए। दीपेन्द्रले १८ औं ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जितनजिक पुगेको थियो। उनी १९ औं ओभरको पहिलो बलमा क्याच आउट भए। दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए।
गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे। कप्तान रोहितकुमार पौडेलले ५ बलमा ४ रन जोडे।
टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो। ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए। उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो।
अर्का ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे। उनी दशौं ओभरमा आउट हुँदा कुवेत ९७९२ को सुदृढ अवस्थामा रहेको थियो।
क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरेका थिए। मित १४ औं ओभरमा सोमपालको बलमा बोल्ड भए । उनले २८ बलमा ३५ रन जोडे । सोमपालले त्यसको २ बलपछि नै उस्मान पटेललाई १३ रनमा आफैं क्याच गर्दै पेभेलियन फर्काए।
त्यसपछि क्रिजमा आएका बिलाल ताहिरले १३ बलमा १ चौका र ४ छक्कासहित ३२ रन जोड्दै कुवेतले खेलमा फर्काए । उनी १८ औं ओभरमा नन्दन यादवको शिकार बने।
एक समय २ सय रनको आँकडा छुने देखिएको कुवेतले मध्य ओभरमा नेपाली स्पिनरविरुद्ध आक्रमण गर्न नसक्दा त्यसमा सफल भएन । नेपालको फिल्डीङ आजको खेलमा कमजोर रह्यो।
नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १/१ विकेट लिए। आज हुने दोस्रो खेलमा आयोजक हङकङले कतारको सामना गर्नेछ।सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो।