ओलीलाई कार्यकर्ताकै अपमान, एमालेमै खोजियो विकल्प,विद्याको थ्रेट
काठमाडौं। दुई तिहाइको बलियो सरकारले समेत अपेक्षित काम गर्न नसकेपछि जनआक्रोश चुलीमा पुगेको छ । सरकारको अक्षमताकै कारण सडक आन्दोलन तातेको मात्र छैन, व्यवस्थाविरोधीहरु पनि यही बेला सलबलाएका छन् । यसले समग्र सरकारमाथि नै नैतिकताको प्रश्न त उठाएकै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजी हरेक क्षेत्र र व्यक्तिले गरिरहेका छन् ।
शक्तिशाली सरकार बनेको ९ महिनामा सरकारका सुनौला दिन भन्दै जनताले पुरस्कृत गर्नुपर्ने हो । तर, इतिहासकै असफल सरकार भन्दै तिरस्कार गर्नुपर्ने अवस्था आउँदैछ।
संयोग हो वा नियोजित यसै भन्न सकिँदैन । तर, जब जब ओली प्रधानमन्त्री बन्छन् । कि जनताको व्यापक समर्थन पाउँछन्, कि व्यापक विरोध। अहिले आफ्नै कुबुद्धीका कारण चौतर्फी रुपमा ओलीको विकल्पको खोजी भइरहेको छ ।
अहिले आम सर्वसाधारणले ओली शासनको विकल्प खोजेका छन् । सम्माननीय प्रधानमन्त्रीको हैसियतमा सिंहदरबारमा विराजमान भए पनि ओलीविरुद्ध जनता र सडकको आक्रोश चरम चुलीमा पुगेको छ।
अहिले प्रधानमन्त्रीको पुतला दहन र देश छोडको नारा सामान्य बन्दा यसलाई उनले सामान्य वा अराजकताको शब्दवाणले टार्न खोजे पनि जनआक्रोश बढेको तथ्यलाई नकार्न सक्ने अवस्था छैन ।
देश परदेश सबैतिर लखेटिने वातावरण बन्दा सुरक्षा हैरानीसमेत उत्तिकै बढेको छ । अर्कोतर्फ यही बेला सडक खाली छैन । शिक्षक, चिकित्सक, सहकारी र लघुवित्त पीडित, राजावादी, गुठी पीडित लगायतका आन्दोलनले सडक कोलाहलपूर्ण बनेको छ।
संयोग नै मान्नुपर्छ यसअघि पनि ओली नै प्रधानमन्त्री भएका बेला यस्ता आन्दोलनको आँधीबेहरी चलेको थियो । यी परिदृश्यले समेत जनता र सडकले ओलीको विकल्प खोजिरहेको प्रष्ट हुन्छ ।
जनतालाई एकछिनका लागि पर राखिदिउँ स्वयं एमालेमै पनि ओलीको पक्षपोषण खुलेर गर्नसक्ने अवस्थामा नेताहरु छैनन् । अर्कोतर्फ कुनै समय ओली बा आई लभ यू भन्दै भाषण सुन्न लालाहित हुने जनता नै अहिले उनलाई सुन्न भन्दा कान थुन्नमा मज्जा लिइरहेका छन्।
मंगलबार सिरहामा सरकारी ढुकुटीबाट इन्धन खर्च गरेर कार्यकर्ता ओसार्दा समेत ओलीको भाषण नसुनी उनीहरु हिँडे । यसले ओलीसँग स्वयं उनकै कार्यकर्ताको नैराश्यताको हत देखाएको छ ।
अर्कोतर्फ अहिले ओलीका कारण सिंगो एमालेकै ड्यामेज भइरहेको अवस्थामा कन्ट्रोल गर्न विद्या भण्डारीले आक्रामक सक्रियता बढाएकी छन्। हालसालै मात्र बालुवाटारमा ओली–विद्याबीच भेट भएको थियो ।
ओलीको सहमतिमै एमालेको नेतृत्व लिन अग्रसर भइरहेकी उनलाई ओलीले ११ औँ महाधिवेशनमा अध्यक्षमा सघाउन र पछि सर्वसम्मतीमै अध्यक्ष वा प्रधानमन्त्री रोजेको दिन तयार रहेको बताएको स्रोतको भनाइ छ। एमालेको एक पक्ष लामो समयदेखि ओली नेतृत्वको बहिर्गमन चाहिरहेको छ । सबै कम्युनिस्ट शक्तिसमेत मिल्ने भएकाले विद्या त्यो पात्र भएको भन्दै सो पक्षले उनलाई नै उचालिरहेको छ । अहिले भने विद्या आफैँ फिल्डमा उत्रिएकी छन् ।
ओलीको विकल्प खोजिरहेको अर्को पक्ष हो कांग्रेस । जसले अहिले ओली नेतृत्वमा सरकारले नतिजा दिन नसकिरहेको वकालत गरिरहेको छ। यतिसम्म कि सुरुमा ओलीको टिममै बसेर काम गरेका महामन्त्री गगन थापाले समेत सरकारको कामको गतिमा प्रश्न उठाइरहेका छन् ।
यसको अर्थ सत्ता सहयात्री कांग्रेससमेत ओलीको कार्यशैलीबाट सन्तुष्ट छैन । कुलमान हटाउनेदेखि पूर्वराजाको पासपोर्ट रद्द गर्नेसम्मका विषयमा मन्त्रिपरिषद्मै कांग्रेस र एमालेको फरक–फरक कित्ता देखिएका थिए ।
ओली हटे धेरै हदसम्मको असन्तुष्टि र जनआक्रोश कम हुने लाइनमा कांग्रेस छ । उसो त माओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पटक पटक शेरबहादुर देउवालाई भेटेरै सरकारको नेतृत्व गर्न समेत आग्रह गर्दै आएका छन्।
ओलीको विकल्प खोजेको अर्को पक्ष हो राजावादी दल र समर्थक पनि । व्यवस्था विरोधी आन्दोलनलाई ओलीकै केही कदमहरुले थप मलजल गरिरहेको अर्थमा उनीहरुले हेरेका छन्।
शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराउने, दबाउने र कार्यकर्तालाई प्रतिकारको निर्देशन दिनेजस्ता उनका गतिविधि राजावादीहरुलाई मन परेको छैन। अर्थात अहिले राजाको बुद्धीको समर्थनभन्दा ओलीको कुबुद्धिको विरोध भइरहेकोमा दुईमत छैन । उनले सञ्चालन गरेको सत्ता र सुशासनले राजावादीलाई थप उक्साइरहेको छ।
ओलीलाई नरुचाएको अर्को फ्याक्टर हो भारत। हालै बैंककमा भएको ओली–मोदी भेटपछि उनीहरुको सम्बन्धमा आइसब्रेक भएको धेरैले टिप्पणी गरे पनि भेट त्यति सौहार्द नभएको बुझ्न सकिन्छ। ४५ मिनेटको सो भेट दुई पक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेभन्दा पनि पुरानै तिक्तताको सवालजवाफमा केन्द्रित रहेको बुझ्न सकिन्छ।
जहाँ राम नेपालमा जन्मिएका हुन् भन्दै आएका ओलीलाई मोदीले जय श्री राम लेखिएको गम्छा प्रयोग गरेरै राममाथि ओलीको दाबीमा जवाफ दिएको अर्थमा धेरैले बुझेका छन्। ओलीले नेपाल आएपछि दिएका अभिव्यक्तिले पनि उनीमाथि भारतको दबाब कायम रहेको बुझ्न समस्या छैन। अहिले नेपाल–भारत सम्बन्ध बिग्रिएको नभई ओली–मोदी तिक्तताकै कारण समग्र कुटनीति धुमिल भएको टिप्पणी भइरहेको छ।