शिक्षकका माग सम्बोधनका लागि निरन्तर छलफलमा छु: सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन्।आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक सङ्घका प्रतिनिधिहरूसँगको भेटमा देउवाले यसो भनेका हुन्।

देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको जानकारी गराए।

भेटमा नेपाल शिक्षक सङ्घका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल उत्साहजनक रहेको बताए । सो भेटघाटमा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरको पनि उपस्थिति थियो।

आन्दोलनरत शिक्षकहरूले भने आन्दोलन कार्यक्रमहरूलाई कडाइका साथ अगाडी बढाई रहेको छ। यसैबिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ पाँच बजे शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको छ। यसअघि मन्त्रालयले वार्ताका लागि पटक/पटक आह्वान गरे पनि महासङ्घ सहभागी भएको थिएन।