नेपालमा छु भन्ने दुर्गा प्रसाईं भारतबाट पक्राउ

काठमाडौं। तीनकुनेकाे हिंसात्मक घटनापछि फरार रहेका राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्।  

प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ। तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए।

त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो। यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए।

सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना भएको थियो।

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो। निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र आगजनी भएको थियो।