सत्ता गठनबन्धनमा खैलाबैला:ओलीप्रति गगनको कटाक्ष बिड तात्यो,ताप्के किन तातेन ?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको लागि नै सरकार बनेको र त्यहि दिशामा सरकारले काम गरिरहेको राग अलापिरहेका हुन्छन्।
देशमा भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवाहको लागि सरकारले काम गरिरहेको प्रधानमन्त्रीले दाबी गरिरहे पनि सत्तारुढ प्रमुख घटक कांग्रेस नै सरकारको कामप्रति सन्तुष्ट हुन सकिरहेको छैन।
मुलुकमा पछिल्लो समय नागरिक असन्तुष्टि चरम उत्कर्षमा छ। भ्रष्टाचार, बेरोजगारी, महंगीले नागरिक वाक्क दिक्क छन्। यो असन्तुष्टि सामाजिक सञ्जालदेखि सडकसम्म नै पोखिन थालेको छ।
शिक्षक, चिकित्सक, मिटरब्याजपीडित, सुकुम्बासी हर क्षेत्रका नागरिक सडक आन्दोलनमा छन्। तर पनि सरकार नागरिक असन्तुष्टिलाई सम्बोधन गर्र्ने गरी जिम्मेवार बन्न सकिरहेको छैन। नागरिक असन्तुष्टि मात्र होइन, सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस नै सरकारको काम कारबाहीप्रति बेखुश देखिन्छ।
विगतमा साना राजनीतिक दलहरुको सत्ता गठबन्धनले सरकारको स्थायित्व नभएकाले नै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार गठन भएको नेताहरुले बताउने गरेका छन्। तर पनि दुई ठूला दल मिलेर पनि सरकारले त्यो गतिमा काम गर्न सकेको छैन ।
सरकारलाई सहयोग गर्नकै लागि भन्दै सत्तारुढ २ दल कांग्रेस र एमालेले संयन्त्रसमेत बनाएका छन्। सरकारलाई सहयोग गर्न बनेको संयन्त्रकै सदस्य सरकारको कामको गति देखेर दिक्क छन्। त्यसैले बिड तातेर केही हुने रहेनछ, ताप्के तात्नुपर्ने रहेछ भन्छन्, सरकारको संयन्त्रको सदस्य एवम् कांग्रेस महामन्त्री गगन थापा।
सत्ता साझेदार प्रमुख दल कांग्रेस नेताहरुले नै सरकारको काम कारबाहीप्रति असन्तुष्ट जनाए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो सरकारले अनपेक्षिक काम गरिरहेको दाबी गर्न छाड्दैनन्।
विहीबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्न पुग्दा पनि प्रधानमन्त्री ओली उहि समृद्धि, सुशासन, भ्रष्टाचार अन्त्य र सेवा प्रवाहको भाषणबाजी नै गरे। आफ्नो नेतृत्वको सरकारले अस्थिरता अन्त्य गर्ने रटान लगाइरहे।
यति मात्र होइन, अझ प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिको चर्चासमेत गर्न भ्याए। निजी क्षेत्रको प्रशंसा गर्दै उनले निजी क्षेत्रका प्रयासहरु पनि राष्ट्रिय हुने भन्दै निजी क्षेत्रका लागि संयोजन र प्रोटेक्सन सरकारले गर्ने प्रतिवद्धता समेत जनाए।
सत्तासाझेदार प्रमुख दल नै सरकारको गतिप्रति असन्तुष्टि जनाइरहँदा प्रधानमन्त्री ओलीले सस्तो भाषणबाजी दिन छाडेका छैनन्।
प्रधानमन्त्री, मन्त्रीहरुको यस्तै भाषणबाजीकै कारण नागरिकको असन्तुष्टि चुलिएको छ। यसरी नै नागरिकको असन्तुष्टिलाई सम्बोधन नगर्ने हो भने, सरकारविरुद्ध मात्र होइन, सिङ्गो ब्यवस्थाकै विरुद्ध सडकमा ओर्लिने दिन नआउनला भन्न सकिँदैन।