शिक्षकको माग सम्बोधन गर्न ढिला नगरौँ: महामन्त्री थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई दुई सुझाव दिएका छन्। महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै शिक्षकहरुका माग जतिचाँडो सम्बोधन गर्नुपर्ने बताएका हुन्।
नयाँ शैक्षिकसत्र नजिक आइसकेकाले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनुपर्ने उनको सुझाव छ।
शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ। महामन्त्री थापाले भनेका छन्, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर केही माग सम्बोधन गर्न सकिन्छ। यसलाई आजै मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ। कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन्। यो कामलाई तत्काल गरौं।
शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा उनले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्नेगरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन्। विधेयकका विषयवस्तुबारे भने यसअघि नै सहमति भइसकेको उनले स्मरण गराएका छन्।
नतिजा प्रकाशन गर्नुपर्ने र नयाँ शैक्षिक सत्र सुरु हुनेबेलामा शिक्षकहरु सडक आन्दोलनमा आउनु लज्जास्पद भएको बताउँदै महामन्त्री थापाले तत्काल सरकारले यसको टुंगो लगाउनुपर्ने बताएका छन्।
‘चाँडोभन्दा चाँडो उहाँहरुलाई कक्षा कोठामा फिर्ता गराउनुपर्छ। यसले शैक्षिक सत्रलाई नराम्रोसँग प्रभावित गर्छ। खास गरी प्रधानमन्त्री र सरकारमा बसेका साथीहरुलाई अझ बढी जिम्मेवारी बोध गर्नुपर्छ’ उनले भने। शिक्षकहरूलाई पनि अहिलेको समयको संवेदनशीलतालाई बुझिदिन उनले आग्रह गरेका छन्।
शिक्षकहरूले पछिल्लो पटक चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका छन्।