संविधान पुनरावलोकन गर्न ढिलाइ गरे सडक अझै आक्रोशित हुन्छ: सांसद कोइराला

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए।

उनले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताए। एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए।

संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए। दण्डहीनता दिनप्रतिदिन बढिरहेको बताए।

सांसद कोइरालाले भने, राजनीतिमा अहिले धेरै कुरा छन्। ती कुरालाई ध्यानमा दिएर यो सरकार, जो अहिले सरकार छ। नेपाली काँग्रेस सम्मिलित सरकार हो यो। यो सरकारमा हामी पनि सरकारमा छौँ। मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ।

किनभने हाम्रो प्रतिष्पर्धी कुनैपनि ठाउँमा एमाले हुन्छ। यो सरकारले तीनवटा कुरा खासगरीः संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ। यसमा अब ढिलाइ नगरौँ। जति ढिलाइ हुन्छ,त्यति सडक आक्रोशित हुन्छ।

सांसद कोइरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गरे।

सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताए। नेपाल आफ्नै खुट्टामा उभिनसक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको बताए।