प्रधानमन्त्री ओली भगौडा दलाल वर्गका संरक्षक: अध्यक्ष साह

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाउँदै वर्तमान सरकारका कारण मुलुकको व्यापार र आर्थिक अवस्था धराशायी हुँदै गएको बताएका छन्।

आजपा काठमाडौँ उपत्यका विशेष कमिटीद्वारा आयोजित कोटेश्वरको बैठकमा बोल्दै अध्यक्ष साहले भने, ‘प्रधानमन्त्री ओली भगौडा दलाल वर्गका संरक्षक बनेका छन्। यिनै वर्गको नेतृत्व गर्दै मजदुर, किसान र श्रमजीवीवर्गको हितमा कुनै पनि कदम चालिएको छैन।

उनले थपे, ‘नेपालबाट लुटिएको सम्पत्ति विदेशमा थुपार्ने, देशको पुँजी बाहिर लैजाने र अन्ततः विदेश भाग्ने तत्त्वहरूलाई प्रधानमन्त्रीले संरक्षण दिइरहेका छन्।

सरकारले भ्रष्टाचार, अनियमितता, कुशासन र कर आतङ्कलाई प्रश्रय दिँदै मुलुकको आर्थिक मेरुदण्ड नै भाँच्ने काम गरिरहेको उनको आरोप छ। सानादेखि ठुला व्यापारीहरूलाई लखेटेर व्यवसाय तहसनहस पारिँदा पनि ओली सरकार मौन छ, किन ? उनले प्रश्न गरे।

सरकारको संवेदनशील र जनविरोधी गतिविधिका कारण मुलुक समृद्धिको यात्राबाट टाढिँदै गएको उल्लेख गर्दै साहले अब जनताले सरकारलाई सिंहदरबारबाट लखेट्नुपर्ने अवस्था आएको बताए।

आजपाले यही उद्देश्यले जेठ १५ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरिसकेको छ। त्यसअघि देशका प्रमुख सहरहरूमा खबरदारीसभा तथा विरोध प्रदर्शन गरिने जानकारी अध्यक्ष साहले दिए।

‘अब आम नेपाली जनतामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारप्रति गहिरो असन्तोष छ। जनताको यो आक्रोश सिंहदरबारसम्म पुर्‍याउने जिम्मा हामी लिन्छौँ,’ उनले चेतावनी दिएका छन्।