रोमनिया पठाइदिन्छु भन्दै चित्रबहादुर भण्डारीले गरे लाखौं ठगी,न माने पहरीको सम्झौता,न रूपैयाँ फिर्ता गरे
काठमाडौं । सोझासिधा नेपाली युवाहरुलाई वैदेशिक रोजगारीका नाममा ठग्नेहरु चोकचोकमा भेटिने गरेका छन्। साहुको ऋणले थिलथिलो बनाएपनि वैदेशिक रोजगारीको आशा देखाउने दलालहरुले लाखौं नेपाली युवाहरुको भविष्य नै बर्बाद बनाउँदै आएका छन्।
राम्रो काम र आकर्षक तलबको ललिपप देखाउँदै युवाहरुलाई फसाउने र उनीहरुबाट काम नगरेरै लाखौं असुल्ने दलालहरुको ठगीधन्दा कहालीलाग्दो छ।
यस्ता दलालहरुलाई राज्यले नै गैरकानुनी मानेको अवस्थामा तिनै दलालहरु नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउन ठगीधन्दा चलाइरहेका छन्।
यस्तैमध्येका एक दलाल हुन् दाङका चित्रबहादुर भण्डारी अर्थात् विजय भण्डारी । उनले केही युवाहरुलाई रोमानिया पठाइदिने भन्दै लाखौं रुपैयाँ असुली गरेको तथ्य हामीलाई प्राप्त भएको छ।
दाङका गणेश भण्डारी र सागर विश्वकर्माको ३ लाख ५० हजार रकम झ्वाम बनाएर उनी हाल सम्पर्कविहीन भएका छन्। पीडित युवाहरुले यसअघि पटकपटक आग्रह गर्दापनि उनले सो रकम फिर्ता गर्न सकेका छैनन्।
कतिसम्म भने नेपाल प्रहरीकहाँ जाँदा पनि उनले रकम दिने आश्वासन दिएका थिए। उनीहरुबीच गत पौष १७ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ लाख ५० हजार रकम दिने सहमति भएको थियो।
दलाल भण्डारीले पौष २४ गतेभित्र ३ लाख ५० हजार सबै रकम फिर्ता गर्ने दाबी गरेका थिए। सो मितिमा रकम फिर्ता नगरे प्रचलित कानुनअनुसार आफ्नो नामको चल अचल जायजेथा श्रीसम्पतिबाट कारबाही गरी सो रकम असुल गरिदिने भन्दै लिखित सहमति पत्रमा उनले सहीछाप गरेका थिए। तर, अहिले सो लिखित सहमति पत्रमा गरेको सहीछापलाई लत्याउँदै उनी सम्पर्कविहीन भएका छन्।
हामीले पनि उनीसँग सम्पर्क गर्ने प्रयास ग¥यौ तर उनी हाम्रो सम्पर्कमा समेत आउन चाहेका छैनन्। वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्नेलाई के हुन्छ कानुनी कारबाही ?
यस्तो छ कानुनी व्यवस्था
वैदेशिक रोजगार ऐन २०६४ को परिच्छेद ९ मा कसुर र दण्ड सजायसम्बन्धी व्यवस्था गरिएको छ। सो ऐनको दफा ४३ मा कसैलाई वैदेशिक रोजगारमा लगाईदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानाबापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ।
सोही ऐनको दफा ४४ मा कसैलाई वैदेशिक रोजगारमा लगाइदिनेछु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम भराई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ।