आज यी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतबाट आएको जलवाष्पयुक्त हावा, अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव आजदेखि हटेको छ ।
पछिल्लो ६ घन्टायता एक÷दुई स्थानमा छिटपुटबाहेक वर्षा भएको छैन । सोमबार बिहान काठमाडौंको आकाश पनि खुलेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेस र देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै राति कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको पनि सम्भावना छ।