५२ शनिबारसहित ०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

काठमाडौं । नयाँ वर्ष वि.स. २०८२ साल सुरु भएको छ। यो वर्ष ८८ दिन सार्वजनिक बिदा हुने छ। नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन्।

दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ। यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ।

ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन्। साथै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले दिन सक्ने छन्।

वैशाख महिनामा चार दिन शनिबारको बिदा छ। त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ।

चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किराँत समुदायको उभौली पर्वको अवसरमा वैशाख २९ गते पनि सार्वजनिक बिदा छ। जेठ महिनामा पाँच दिन शनिबारको सार्वजनिक र एक दिन जेठ १५ गते गणतन्त्र दिवसको बिदा छ।

असारमा चार दिन सार्वजनिक बिदा छ । त्यसबाहेक एक दिन पनि सार्वजनिक बिदा छैन। साउनमा पाँच दिन शनिबारको बिदा परेको छ । २४ गते शनिबारकै दिन रक्षाबन्धन तथा जनैपूर्णिमा परेको छ। २५ गते आइतबार गाईजात्रा पर्वको बिदा छ। यस दिन काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ। ३१ गते श्रीकृष्ण जन्माष्टमी पर्व पनि शनिबार नै परेको छ।

भदौमा चार शनिबार परेका छन् । भदौ ७ गते शनिबारको दिन बुवाको मुख हेर्ने दिन परेको छ । १० गते हरितालिका (तीज)को दिन महिला कर्मचारीहरुलाई मात्र बिदा हुने छ।

भदौ १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा परेका छन्। इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३० गते जितिया पर्व परेको छ । यस दिन जितिया पर्व मनाउने महिलाहरु कर्मचारीहरुलाई मात्र बिदा हुने छ।

असोज महिनामा चार शनिबार परेका छन्। असोज ३ गते शुक्रबारको दिन संविधान दिवसको बिदा छ । असोज ६ गतेदेखि नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ।

यस दिन घटस्थापना परेको छ। त्यसपछि असोज १३ गते सोमबारको फूलपातीदेखि असोज १८ गते शनिबारसम्म दशैं बिदा छ । १६ गते दशैंको टीकाको दिन छ।

त्यस्तै कात्तिक महिनामा पाँच शनिबार परेका छन् । १ गते शनिबार तिहारको धनतेरसको दिन परेको छ । २ गते आइतबार काग तिहार छ । ३ गते काग तिहारको एक दिन कार्यालयहरु खुले पनि ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा छ। ६ गते भाइटीकाको दिन परेको छ।

त्यसपछि कात्तिक १० गते छठ पर्वको बिदा हुने छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती छ । यस दिन किराँत धर्मावलम्बीका लागिमात्र बिदा हुने छ।

मंसिर महिनामा चार दिन शनिबारको बिदा हुने छ । मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परेको छ । मंसिर १८ गते ज्यापु दिवसको बिदा छ । पुसमा चार शनिबार परेका छन् । पुस १० गते इसाई धर्मालम्बीको पर्व क्रिसमस डेको बिदा छ । यसैगरी पुस १५ गते मंगलबार तमू ल्होछार र पुस २७ गते आइतबार पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको बिदा छ ।

माघ महिनामा चार शनिबार परेका छन्। १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको दिन सार्वजनिक बिदा हुने छ । यसैगरी माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते शहीद दिवस परेको छ। फागुन महिनामा ५ शनिबार परेका छन् । २ गते शनिबार र ३ गते महाशिवरात्रिको बिदा हुने छ।

फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस छ। यसैगरी १८ गते हिमाली र पहाडी जिल्लामा होली पर्वको बिदा छ। १९ गते तराई मधेशका जिल्लामा होलीको बिदा हुने छ। त्यसपछि फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस ९मार्च ८० को सार्वजनिक बिदा हुने छ।

त्यसैगरी, चैतमा चार शनिबार परेका छन्। चार गते घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा छ भने १३ गते शुक्रबार रामनवमीको बिदा छ।