एमालेमा मिसिएका हैनौं: महामन्त्री थापा
काठमाडौं। नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन्। काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आज आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस नबिग्रिने दाबी गरेका हुन्।
यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं। त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ’, उनले भने,तर, हामी मिसिन गएको होइन। सफा गर्न गएको हो। हामी मिसिदैनौं। हामी त्यसकै अंग बन्न गएकै होइन।
उनले एमालेसँग सहकार्य गर्दा अपेक्षा गरिएका काम पूरा नभएको बताउँदै असन्तुष्टि पनि व्यक्त गरे। दुई ठूला पार्टी मिल्दा संविधान संशोधनका साथै जनअपेक्षाका काम गर्न सकिने विश्वास भए पनि त्यो ढिला भएको उनको भनाइ छ।
यसका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि सुधार हुन नसकेको उनको भनाइ छ। उनले वडामा,पालिकामा र संघीय सरकामा कांग्रेस हुँदा पनि चित्तबुझ्दो काम नभएको बताए।