पूर्वराजाविरूद्ध ओली–प्रचण्ड एक ठाउँ,किन बोलेनन् देउवा ?

काठमाडौं। नयाँ वर्षको अवसरमा राजनीतिक दलका शीर्षस्त नेतादेखि पूर्वराजासम्मले शुभकामना सन्देश दिने बहानामा आ–आफ्नो आक्रोश व्यक्त गरेका छन्। शुभकामनालाई समेत राजनीतिक अवसर मानेका उनीहरु आफ्नो अभिव्यक्तिमै भिडेका छन्।

गत फागुनमा प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै ‘अब समय आयो’ भन्दै वर्तमान व्यवस्थालाई नै चुनौती दिएका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतवार नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमार्फत दलहरुमाथि नरम ढंगले आक्रोश मात्र पोखेनन्, यही वर्ष राजसंस्था फर्किने विश्वाससमेत व्यक्त गरेका छन्।

पूर्वराजाले जनभावनाअनुसार मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधार गर्न आह्वान नै गरेका छन्। सन्देशको सुरुमा नै हरेक नयाँ वर्षले नयाँ उमंग ल्याएर आउने गरे पनि अन्त्य भने चरम निराशा दिएर हुने गरेको उल्लेख गर्दै उनले मुलुकमा व्याप्त अशान्ति, निराशा र अराजकता चिर्न राजसंस्थाले जहिल्यै योगदान पु¥याएको बताए। साथै उनी नयाँ वर्षमा जनताको चाहना अनुसारको परिणाम अर्थात राजसंस्था फर्किनेमा आशावादी पनि देखिएका छन्।

पूर्वराजालाई आफ्नो हैसियतमा बस्न र सत्तामा आउने चाहना भए चुनाव लड्नसम्मको चेतावनी दिएका गणतन्त्र पक्षधर राजनीतिक दलहरु भने ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यले फेरि झस्किएका छन्।

निर्मल निवासमा चुप लागेर बस्न चेतावनी दिइरहेका दलहरुप्रति नै पूर्वराजाले नयाँ वर्षको अवसरमा नरम शैलीमा राजसंस्था पुनस्र्थापनाको आवाज उठाएपछि सत्तारुढ नेकपा एमालेले खण्डन नै गर्न भ्याइसकेको छ।

पूर्वराजाको फागुन ७ को सन्देशले झस्किएको एमालेले आइतवारको पूर्वराजाको सन्देशलाई संकेत गर्दै पूर्वजराजा शाहमा अहिले पनि राजतन्त्र फर्काउने चाहना जीवितै रहेको आरोप लगाएको छ। सोमबार बसेको एमाले सचिवालय बैठकले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको छ।

पूर्वराजा शाहको भिडियो सन्देश लगत्तै आइतबार नै आफ्नो शुभकामना भिडियो सन्देश सार्वजनिक गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढेको टिप्पणी गरेका छन्।

सरकारको कमजोरीको फाइदा प्रतिगामीले लिन खोजिरहेको उनको दाबी छ। हाम्रो भविष्य पछाडि फर्केर होइन,अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ’ भन्दै प्रचण्डले अब पछाडि फर्किन नसकिने जिकिर गरेका छन्।

यता वैकल्पिक धारको हुँकार गर्दै राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ वर्षको शुभकामना सन्देशसहित नेतृत्वविरुद्धको प्रतिशोध नयाँ सोचमाथिकै प्रहार भएको उल्लेख गरेको छ।

यस्तै कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रिय राजनीतिबारे कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भएको उल्लेख गरेका छन्। नयाँ वर्ष र शुभकामना सन्देशको बहानामा व्यवस्था परिवर्तनको चाहना राख्नेदेखि प्राप्त उपलब्धिलाई रक्षा गर्दै देश विकासमा अगाडि बढ्नु पर्ने विचारमा गणतन्त्र पक्षधरसम्मले आ–आफ्नो राजनीतिक तुष पोखेका छन्।

उनीहरुले नयाँ वर्षको शुभकामनालाई समेत राजनीतिक दाउपेचको अस्त्रको रुपमा प्रयोग गरेका छन्। सबैले आ–आफ्नो ढंगले नयाँ वर्षमा नयाँ परिवर्तनको आशा राखे पनि नेपाली जनताले के चाहेका छन्? भन्ने विषयलाई भने बेवास्ता गरेको देखिन्छ।