दुर्गा प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योगसहित चार मुद्दामा अनुसन्धान सुरु
काठमाडौं । राजावादी प्रदर्शनको क्रममा हिंसा भड्किएको तीनकुने घटनामा दुर्गा प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा समेत अनुसन्धान सुरु भएको छ।
१५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा उनले सुरक्षाकर्मीलाई गाडीले पेल्दै अघि बढेको आरोपमा प्रहरीसमक्ष सामूहिक उजुरी दर्ता भएको हो। भिडिओमा उनी आफैँले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीमाथि गाडी चलाएको देखिन्छ।
यसअघि काठमाडौं जिल्ला अदालतबाट राजद्रोह, सङ्गठित अपराध र आपराधिक उपद्रवसम्बन्धी कसुरमा प्रसाईँविरुद्ध अनुसन्धान सुरु भइसकेको छ। ज्यान मार्ने उद्योग थपिएसँगै अब चार वटा कसुरमा एकैसाथ अनुसन्धान अघि बढाइएको हो।
प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि भएको, घर, पसल र सवारी साधनमा तोडफोड तथा आगजनी भएको थियो। सोही क्रममा दुई जनाको ज्यान गएको थियो।
१५ दिनसम्म फरार रहेका प्रसाईँ २८ चैतमा भारतको आसामबाट पक्राउ परेका थिए। उनीलाई झापाको चन्द्रगढी विमानस्थलमार्फत काठमाडौं ल्याइएको थियो। अदालतले हाल उनलाई १२ दिनको म्यादमा हिरासतमा राख्न अनुमति दिएको छ।