अर्थतन्त्र चलायमान बनाउन सरकार काम गर्दैछ: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र चलायमान बनाउन सरकारले काम गरिरहेको बताएका छन्।

मंगलवार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थल बन्ने बताए। उनले भौतिक रूपमा पनि संरचनालाई दर्विलो गरी निर्माण गर्ने प्रतिबद्धता जनाए।

उनले अहिले देशको अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे। उनले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताए।

मन्त्री पाण्डेले भने, ‘सबै कुरामा हामी निराश भएर मात्रै हुँदैन। हामीले अघि बढ्दै जाँदा कुनै दिन हाम्रा भव्य प्रदर्शन स्थलहरू हुनेछन्। तीनवटा प्रतिष्ठानहरूमा नेपाल प्रज्ञा प्रतिष्ठान बाहेक यी दुईवटा प्रतिष्ठानले ठूलो संघर्ष व्यहोरिरहनुभएका छन्।

अर्थतन्त्र उठाउनुपर्ने र चलायमान बनाई हाम्रा भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व हाम्रो काँधमा छ।मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गरे।