आज देशभर वर्षाको सम्भावना

फाइल तस्वीर

काठमाडौं । हाल देशभर स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभरि बदलीको अवस्था छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । बुधबार मंगलबारको तुलनामा केही कम पानी पर्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका एक÷दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, उच्च पहाडी भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ ।

काठमाडौंमा आज दिउँसो वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । उनका अनुसार बिहीबारदेखि अझै बढी पानी पर्ने सम्भावना छ ।

अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले बिहीबार पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ ।