पौडी खेल्न गएका एकै घरका २ बालक नारायणीमा बेपत्ता

काठमाडौं । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका हुन् ।
मध्यविन्दु नगरपालिका–१२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालका अनुसार वेपत्ता भएका बालकहरु एउटै परिवारका दुई भाइका छोरा हुन् । विजयले हालै मात्र एसईई परीक्षा दिएका थिए ।
घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिका–१५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए । उनीहरु वेपत्ता भएको जानकारी पाउनासाथ स्थानीय र प्रहरी खोजी जारी राखेका छन् ।